कांग्रेसका नेता घिमिरे र आचार्यले भेटे स्वास्थ मन्त्रालयका सचिव देवकोटा र बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेलाई

दाङ, २९ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमा सेवाको प्रथम सेवा बिन्दुबाट हटाउने बीमा बोर्डको पछिल्लो निर्णयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका विमित नागरिकलाई बिमा सम्बन्धी सेवा लिन कठिन हुने देखिएको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता किरणकिशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुनाथ काफ्लेसँग भेटेर छलफल गरेका छन्।
छलफल सचिव तथा कार्यकारी निर्देशकको कार्यकक्षमै भई सकारात्मक निष्कर्षमा पुगेको छ। छलफल अनुसार, हाललाई घोराही उपमहानगरपालिकाले बीमा बोर्डलाई लिखित अनुरोध गरेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै सीमित अवधिसम्मका लागि प्रथम सेवा बिन्दु कायम राख्ने निर्णयमा सहमति जुटेको हो।
त्यसैगरी आगामी दिनमा घोराही पूर्वको गोग्ली स्वास्थ्य केन्द्रलाई बीमा बोर्डको मापदण्ड अनुसार स्तरोन्नती गरिनेछ भने घोराही पश्चिमका लागि नारायणपुर स्वास्थ्य केन्द्रलाई आवश्यक पूर्वाधारसहित स्तरोन्नत गरी प्रथम सेवा बिन्दु बनाइनेछ।
त्यसैगरी बंगलाचुलीका लागि काभ्रे स्वास्थ्य केन्द्रलाई आवश्यक मापदण्ड पुरा गरी सेवा विस्तार गरिने सहमति भएको छ।