दाङमा लागूऔषधका घटना वृद्धि : १०६ मुद्दा दर्ता, १७४ जना पक्राउ

लीलाधर वली
दाङ, १ साउन । दाङमा लागूऔषधसम्बन्धी घटना वृद्धि भएका छन् । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१÷०८२ मा दोब्बरले लागूऔषधसम्बन्धी मुद्दा वृद्धि भएका हुन् ।
आर्थिक वर्ष ०८१÷०८२ मा जिल्ला प्रहरी कार्यालय दाङमा लागूऔषध कारोबारसम्बन्धी १०६ वटा मुद्दा दर्ता भएका छन् । उक्त घटनामा एक सय ५४ जना पुरुष र २० जना महिला गरी एक सय ७४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ परेकामध्ये एक सय एक जना धरौटीमा छुटेका छन् भने ४३ जना कारागार चलान भएका छन् । प्रहरीले पक्राउ परेका अभियुक्तका साथबाट चरेस ९३ केजी ७० ग्राम ४३ मिलिग्राम, ब्राउन सुगर ९९ ग्राम ३३ मिलिग्राम, अफिम ११ केजी एक सय ८० ग्राम, गाँजा १९ केजी एक सय ९९ ग्राम, नाइट्रोचेपाम ट्याब्लेट छ हजार आठ सय पाँच थान र मनोद्दीपक पदार्थ एम्पुल ११ थान बरामद गरेको छ ।
जिल्लामा अघिल्लो आर्थिक वर्ष ०८०÷०८१ मा लागूऔषधसम्बन्धी ५२ वटा मुद्दा दर्ता हुँदा ९६ जना पक्राउ गरेका थिए । प्रहरीले पक्राउ परेका अभियुक्तको साथबाट लागूऔषध चरेस ११ केजी आठ सय २० ग्राम, ब्राउन सुगर ४५ ग्राम ५० मिलिग्राम, अफिम तीन केजी, गाँजा छ केजी सात सय २५ ग्राम, नाइट्रोचेपाम ट्याब्लेट चार सय ७७ थान र मनोद्दीपक पदार्थ एम्पुल ५४ थान नियन्त्रणमा लिएको थियो ।
दुई वर्षको तथ्याङ्कका आधारमा जिल्लामा पछिल्लो समय लागूऔषधका घटनमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक शाह बताउँछन् । प्रहरी सक्रियता बढेसँगै लागूऔषधसँगै कारोबार र सेवनकर्ताहरू पक्राउ परेको बताए । उनका अनुसार जिल्लामा चरेस र नाइट्रोचेपाम ट्याब्लेटको कारोबार बढेको छ ।
लागूऔषधको कारोबारमा भएको वृद्धिलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै प्रहरी नायव उपरीक्षक शाहले भने, ‘लागूऔषध दुव्यर्सनीका घटना वृद्धि हुुनु राम्रो होइन । लागूऔषध दुव्यर्सनी न्यूनीकरणका लागि सबै सचेत हुन आवश्यक छ ।’
एक हजार बढी उजुरी
जिल्लामा बितेको एक वर्षमा प्रहरीमा एक हजार बढी उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष ०८१÷०८२ को साउनदेखि असारसम्म एक हजार एक सय ७५ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरीमा परेका उजुरीमध्ये सात सय ४८ फस्र्योट भएको र चार सय २७ वटा बाँकी रहेका छन् । प्रहरीका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष उजुरीमा कमी आएको छ । सचेतनासँगै प्रहरीको संक्रियताका कारण समाजमा हुने अपराधका घटनामा कमी भएको प्रहरी निरीक्षक शाहले बताए ।
उनका अनुसार आर्थिक वर्ष ०८०÷०८१ मा प्रहरीमा एक हजार दुई सय ७६ वटा उजुरी दर्ता भएकोमा एक हजार ९३ वटा फस्र्योट भएका थिए भने एक सय ८३ वटा बाँकी रहेका थिए ।
पाँच सय बढी फरार प्रतिवादी पक्राउ
जिल्लामा प्रहरीले एक वर्षको अवधिमा पाँच सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट विभिन्न समयमा भएको फैसला अनुसार दोषी ठहर भएर फरार रहेका पाँच सय ७५ जनालाई यो वर्ष पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।
उनका अनुसार अदालतबाट कैद भुक्तानका लागि कारागार चलान भएका छन् । पक्राउ परेका अभियुक्तबाट दुई सय ३८ वर्ष, छ महिना नौ दिन कैद तथा ७६ लाख दुई हजार एक सय ५६ रुपैयाँ जरिवाना असुल भएको छ ।
पक्राउ परेकामध्ये ६३ जना लागूऔषध मुद्दाका फरार प्रतिवादी रहेको समेत प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले आर्थिक वर्ष ०८०÷०८१ मा चार सय तीन जना फरार प्रतिवादी पक्राउ परेका थिए । उनीबाट ९७ वर्ष तीन महिना १७ दिन कैद तथा ६८ लाख नौ हजार तीन सय ५२ रुपैयाँ ८९ पैसा जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।
१७८ जना जुवाडे पक्राउ
दाङमा एक वर्षको अवधिमा जुवाताससम्बन्धी २२ वटा उजुरी दर्ता भएको छ । जसमा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा एक सय ७८ जना जुवाडे पक्राउ गरेको छ ।
उनीहरूको साथबाट २० लाख चार सय ४५ रुपैयाँ जफत गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिएका छन् । उनका अनुसार गत आर्थिक वर्ष जिल्लामा तीनवटा जुवाताससम्बन्धी मुद्दामा २२ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट दुई लाख ८२ हजार दुई सय ७० रुपैयाँ जफत गरेको थियो ।
आत्महत्याका घटना वृद्धि
यसैबिच जिल्लामा आत्महत्याका घटना वृद्धि भएका छन् । गत आर्थिक वर्षमा एक सय ९९ जनाले आत्महत्या गरेकोमा यस वर्ष दुई सय नौ जनाले आत्महत्या गरेको प्रहरीसँग तथ्याङ्क रहेको छ । जसमा सबैभन्दा धेरै झुन्डिएर एक सय ६४ जना, विष सेवन गरेर ४२ जना, औजार प्रयोग गरेर दुई जना र हाम फालेर एक जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गत आर्थिक वर्षमा झुन्डिएर एक सय ५६ जना र विष सेवन गरेर ४३ जना गरी एक सय ९९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार आत्महत्याका घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू विद्यालयदेखि बस्तीस्तरसम्म गर्दै आए पनि घटनामा न्यूनीकरण हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दाङले आर्थिक वर्ष ०८१÷०८२ मा गरेका कार्यहरू बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।