Ad Area

गुलरियामा हुने शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी पूरा


घोराही, ३२ असार । घोराही १७ गुलरियामा हुने एक महिने शिवपुराण तथा श्रृंगारिक महाआरतीको सबै तयारी पूरा भएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गएको शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी पूरा भएको जनाएको हो । आयोजकका अनुसार, मञ्च व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, सरसफाइलगायत सबै कार्य पूरा भएको छ ।

साउन १ गते दिउँसो १ बजे शिवपुराण तथा श्रृंगारिक महाआरतीको उद्घघाटन गर्ने गरी तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शिवपुराण तथा श्रृंगारिक महाआरति मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष गोराथोकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघमा केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा साउन १ गते विधिवत रुपमा उदघाटन गर्नुअघि बिहान १० बजे भव्य कलशयात्रा निकालिने जानकारी गराईएको छ । उक्त कलशयात्रा गुलरिया पार्कबाट निस्केर तुलसीपुर चोक, दामोदर चोक, शहिद गेट, जिल्ला प्रशासन हुँदै शिवपुराण तथा श्रृंगारिक महाआरति हुने स्थलमा आउने संयोजक गोराथोकीले बताउनुभयो । शिव महापुराण पाठ तथा श्रृङगारिक महाआरतीको उदघाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले गर्नुहुने भएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय परिसर र शिव पार्वति तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तर उन्नतिका लागि विशेष धार्मिक कार्यक्रमको आयोजना गरिएको हुँदा साउन १ गतेदेखि श्रावण ३१ गतेसम्म निरन्तर रुपमा शिव महापुराण पाठ तथा श्रृङगारिक महाआरती कार्यक्रममा सरिक हुन सबै भक्तजन, शुभेच्छुकहरुमा आयोजकले आग्रह गरेको छ ।
सहिद स्मारक पार्क परिसर र मन्दिरको भौतिक पूर्वाधारलाई अझ सुदृढ बनाउँदै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न शिवपुराण तथा श्रृंगारिक महाआरती संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

धार्मिक अनुष्ठानबाट बचेको रकम मन्दिर परिसरको सौन्दर्यकरण, संग्राहालयको स्तरोन्नति, पदमार्ग, विश्राम गृह, बत्ती व्यवस्थापन, पानी सुविधा जस्ता आधारभूत संरचनाको सुधार तथा थप विकासमा खर्च गरिने पनि जनाइएको छ ।

कार्यक्रममा सुप्रसिद्ध पण्डित आचार्य श्यामशरणको मुखारविन्दबाट शिव महापुराणको दैनिक रुपमा वाचन हुनेछ । प्रत्येक बिहान साढे ४ बजेदेखि योगा कक्षाबाट सुरुहुँदै सन्ध्याकालीन श्रृङगारिक महाआरती विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने पनि आयोजकले जनाएको छ ।

एक महिने महाआरतीमा रूद्राभिषेक, लघु रूद्रि, लक्ष्यवर्तिका, चौरासी पूजा, जन्मदिन, गृहपूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, चूडाकर्मलगायत कार्य समेत हुने छ ।

धार्मिक प्रवचन, भजन–कीर्तन, दैनिक आरती, शिव महिमा सम्बन्धी विशेष प्रस्तुति र भक्तजनहरूको सहभागितामा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि भएको प्रचारप्रसार उपसमिति संयोजक कमल वलीले बताउनुभयो । कार्यक्रमको सहजीकरण शिवपुराण तथा श्रृंगारिक महाआरती मूल आयोजक समितिका सचिव दीपक वलीले गर्नुभएको थियो ।