६३ औँ इन्जिनियर्स दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

घोराही, १ साउन । नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशले ६३ औँ इन्जिनियर्स दिवस विभिन्न कार्यक्रम गरेर मनाउन शुरु गरेको छ । लुम्बिनी प्रदेश इन्जिनियर्स एशोसिएसनका सभापति महेश्वर लम्सालको अध्यक्षतामा नेपालगञ्जमा औपचारिक उदघाटन गरी दिवस मनाउन शुरु गरिएको हो ।
‘इञ्जिनियरिङ विकासको मेरुदण्ड, समृद्ध राष्ट्रको आधार’ भन्ने नाराका साथ विभिन्न स्थानहरूमा कार्यक्रमहरू आयोजना गरेर दिवस मनाउन थालिएको बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । जस अनुसार बिहीबार नेपालगञ्जको भेरी अस्पतालमा जीवनरक्षा तथा सामाजिक उत्तरदायित्वप्रति इञ्जिनियरहरूको प्रतिवद्धतासहित रक्तदान कार्यक्रम गरिएको लुम्बिनी प्रदेश इन्जिनियर्स एशोसिएसनका सभापति लम्सालले बताउनुभयो ।
अब शुक्रबार दाङको घोराहीस्थित राप्ती इन्जिनियरिङ कलेजमा नयाँ पुस्तासँग ज्ञान आदानप्रदान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले विद्यार्थीहरूसँग अन्तरक्रिया गरिने भएको छ भने कभर्ड हलमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
यसैगरी, साउन ३ गते इञ्जिनियरहरू बीचको मित्रता, फिटनेस र सहकार्यको प्रतीक मान्दै बुटवलमा फुटसल प्रतियोगिता गरिने भएको छ भने इञ्जिनियरिङ क्षेत्रमा अहोरात्र खटिएका श्रमिकहरूप्रति कृतज्ञता प्रकट गर्न ६ गते श्रमिक सम्मान कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश इन्जिनियर्स एशोसिएसनका सभापति लम्सालको जानकारी गराउनुभयो ।
समसामयिक प्रविधि, चुनौती, अवसर तथा संगठनको आगामी योजना सार्वजनिक गर्दै साउन ९ गते बुटवलमा सेमिनार, वार्षिक साधारण सभा र समापन समारोह आयोजना गरि ६३औँ इन्जिनियर्स दिवस मनाउन लागिएको उहाँले बताउनुभयो । देशभरबाट ४५ हजार बढी इन्जिनियरहरु इन्जिनियर्स एशोसिएसनमा आवद्ध भएको जनाउँदै लुम्बिनीमा २ हजार बढी यसमा आवद्ध रहेको बताउनुभयो ।
नवप्रवेशी विद्यार्थीदेखि अनुभव सम्पन्न इञ्जिनियरसम्म सबैको सहभागिता सुनिश्चित गर्दै इञ्जिनियरिङ पेशाको सामाजिक, आर्थिक र विकासशील भूमिकालाई अझ बलियो बनाउन दिवसका माध्यमबाट विभिन्न कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्नेहरुले इन्जिनियरिङ क्षेत्रको महत्व औंल्याउँदै प्रदेश सरकारलाई पूर्वाधार विकासमा समृद्ध बनाउन इन्जिनियरहरूको माग र क्षमतालाई अधिकतम उपयोगमा ल्याउन यस प्रकारको कार्यक्रमले सघाउ पुग्ने बताउनुभयो । सामाजिक एकता, सिकाइ र पेशागत विकासको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले आगामी दिनहरूमा इन्जिनियरहरुको प्राविधिक र पेशागत योगदानमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, इन्जिनियर्स एशोसिएसन लुम्बिनीका निवर्तमान अध्यक्ष शैलेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष पारस खड्कालगायतले इन्जिनियर र समुदाय बीचको दुरी घटाउँदै इन्जिनियर पेशाको महत्व उजागर गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पत्रकार सम्मेलनको सहजीकरण इन्जिनियर्स एशोसिएसन लुम्बिनीका सहसचिव संकल्प बुढाथोकीले गर्नुभएको थियो ।