दाङमा विपद्जन्य घटनाबाट ४१ करोड ६८ लाख बढीको क्षति

दाङ, ७ साउन । दाङमा एक वर्षको अवधिमा विपद्जन्य घटनाबाट ४१ करोड ६८ लाख रुपैयाँ बराबर धनजनको क्षति भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा भएका दुई सय १० वटा विभिन्न विपद्जन्य घटनाबाट ४१ करोड ६८ लाख २२ हजार दुई सय तीन रुपैयाँ बराबर धनजनको क्षति भएको हो ।
विपद्जन्य विभिन्न घटनामा १३ जनाको मृत्यु र ६२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार दुई वटा पशुचौपायाको मृत्यु र १६ वटा घाइतेसँगै एक सय घर, १२ गोठ, सात सवारीसाधन र एउटा उद्योगमा क्षति भएको छ । जिल्लामा आगलागी, बाढीपहिरो, चट्याङसँगै हावाहुरीका कारण धेरै क्षति भएको सूचना अधिकारी शाहले बताए । जिल्लामा गत आर्थिक वर्षमा भएका ६४ वटा आगलागीका घटनामा ४० करोड तीन लाख ४१ हजार चार सय ८३ रुपैयाँको क्षति भएको उनले बताए । उनका अनुसार आगलागीमा परेर एक जनाको मृत्यु र चार जना घाइते भएका छन् भने सात वटा पशुचौपायाको मृत्यु र सातवटा घाइते भएका थिए ।
यसैगरी एक प्लाइ उत्पादनसम्बन्धी उद्योगसहित छ वटा सवारी साधन, २० वटा घर र आठ वटा गोठमा आगलागीबाट क्षति पुगेको प्रहरीसँग तथ्याङ्क छ । अविरल वर्षाका कारण भएका ४१ घटनामा तीन जना घाइतेसँगै ३९ वटा घर र तीन गोठमा क्षति पुग्दा एक करोड १० लाख ६१ हजार, हावाहुरीका कारण भएका १५ घटनामा २७ घर र एउटा गोठमा क्षति हुँदा ३१ लाख ८६ हजार आठ सय, चट्याङ पर्दा भएका दुई घटनामा एक जनाको मृत्यु, चार जना घाइते, पाँच पशुचौपायाको मृत्यु हुँदा ११ लाख एक हजार बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।
यसैगरी पहिरोका कारण भएका सात घटनामा एक घरमा क्षति, दुई जना मानिस घाइते, सात पशुचौपायाको मृत्यु र सात वटा घाइते हुँदा छ लाख, बाढी÷डुबानका कारण भएका १९ घटनामा पाँच जनाको मृत्यु, तीन जना घाइते, एउटा सवारीसाधान र सात घरमा क्षति हुँदा चार लाख ९० हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक शाहका अनुसार सर्पदंशका ४७ घटनामा पाँच जनाको मृत्यु र ४२ जना घाइते भएका थिए ।
फाइल तस्वीर