दाङमा वन पैदावारबाट चार करोड ६२ लाख राजस्व संकलन

घोराही,१२ साउन । दाङमा एक बर्षको अवधिमा वन पैदावारबाट चार करोड ६२ लाख बढी राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालय घोराही दाङले आर्थिक बर्ष २०८१÷०८२ मा वन पैदावारबाट चार करोड ६२ लाख ३५ हजार चार सय ५७ रुपियाँ राजस्व संकलन गरेको हो ।
जिल्लामा काठ दाउरा बिक्री गर्दा सामुदायिक वन समूहबाट तीन करोड ३४ लाख दश हजार छ सय २१ रुपियाँ, सरकारद्वारा व्यवस्थित वनबाट ६९ लाख ४४ हजार एक सय ६९रुपियाँ र निजी वनबाट ३३ लाख ४५ हजार एक सय दश रुपियाँ राजस्व संकलन भएको छ । त्यसैगरी गैरकाष्ठ (जडिबुटी) बाट २ लाख ७३ हजार रुपैया, बेबारिसे काठ दाउरा बिक्रीबाट १९ लाख ९१ हजार दुई २७ रुपियाँ र सल्लाको खोटोबाट दुई लाख ७१ हजार तीन सय ३० रुपियाँ राजस्व संकलन गरेको छ ।
जिल्लामा काठ दाउरा बिक्रीबाट संकलन भएको पाँच करोड ७४ लाख ७१ हजार एक सय ८० रुपियाँ र सल्लाको खोटो बिक्रीबाट आम्दानी भएको १८ लाख ३७ हजार छ सय ५७ रुपियाँ गरेर पाँच करोड ९३ लाख आठ हजार आठ सय ३७ रुपियाँ वन समूहको कोषमा जम्मा भएको डिभिजन वन कार्यालय घोराही दाङका बरिष्ठ वन अधिकृत एवं सूचना अधिकारी टेकनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । सूचना अधिकारी आचार्यका अनुसार दुई करोड ७८ लाख ३९ हजार पाँच सय ८३ रुपियाँ राजस्व प्रदेश संचित कोषमा जम्मा भएको छ ।
संघीय वन ऐन २०७६ ले आम्दानीको २५ प्रतिशत रकम वन स्थापन र बाँकीको २५ प्रतिशत कटाएर गरिवी न्यूनीकरण, महिला सशक्तिकरण र वन उद्यमका लागि खर्च गर्ने व्यवस्था गरेको र सोही अनुसार वन समूहले कार्य गर्दै आएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । त्यसैगरी लुम्बिनी प्रदेश वन ऐन २०७८ का अनुसार आम्दानीको ४० प्रतिशत वन व्यवस्थापनसँगै बाँकी रकम समुदायको विकासका लागि खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । डिभिजन वन कार्यालय घोराही दाङका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा दुई लाख ६३ हजार चार सय ५१.५५ क्युफिट काठ उत्पादन भएको छ ।