Ad Area

पर्यटन क्षेत्रको विकासबाट मात्रै मुलुकको समृद्धि सम्भव


घोराही, ९ साउन । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटन क्षेत्रको क्षेत्रको विकासबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताउनुभएको छ ।

दाङको घोराहीमा स्थापना भएको कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटको उदघाटन गर्दै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशमा धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र प्रसस्त रहेकाले पर्यटक भित्र्याउन यसको विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको सम्भावना धेरै भएपनि अहिलेसम्म सरकारले लगानी बढाउन नसक्दा समस्या भईरहेको भन्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउन राज्यले लगानीमैत्री वातावरण बनाउन ढिलाई गर्न नहुने बताउनुभयो ।

उहाँले युवाहरुले देशमा केही गर्नुपर्छ भनेर गरिरहेको लगानीलाई सुरक्षित गर्ने वातावरणमा राज्य अभिभावक बन्न सक्नुपर्ने बताउनुभयो । नवीन सोँचसहित युवाहरुले संचालनमा ल्याएको कौशीले अहिलेको बजार मागलाई सम्बोधन गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । कौशी ग्रुपद्वारा संचालित कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटका संचालक रोशन दाहालको अध्यक्षतामा भएको उदघाटन समारोहमा मन्त्री न्यौपानेले होटल खुलेपछि मान्छे आउने वातावरण बनाउन र आगन्तुक टिकाउने आधार स्थापना गर्नुपर्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले नरुलाल चौधरी देशमा रोजगारी सिर्जना गरेर स्थानीय उत्पादन र अवसरलाई होटल व्यवसायका माध्यमबाट अर्थतन्त्र चलायमान बनाउने काम सराहनीय रहेको बताउनुभयो । उहाँले छरिएर रहेको पूँजीलाई एकत्रित गरेर थालनी गरिएको कामलाई सुरक्षित रुपमा पेशा व्यवसाय संचालन गर्ने वातावरण बनाउन स्थानीय सरकारले सहजीकरण गर्ने बताउनुभयो ।

होटल व्यवसायी ओबिन्द्र महराले दाङको होटल व्यवसायमा कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेट खुलेर अर्काे नयाँ इँट्टा थपिएको बताउनुभयो । अब जिल्लाको होटल व्यवसाय चलायमान बनाउन यहाँको पर्यटन पूर्वाधारमा ध्यान दिन सरोकार निकायलाई आग्रह गर्नुभयो ।

दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढाले होटल खुल्दा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनले होटल व्यवसायको विकास र बिस्तारमा राज्यले साथ दिनुपर्ने बताउनुभयो । उहाँले युवाहरुमा लगानीमैत्री वातावरण बनाउन राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

दाङका ८ जना युवाहरुले घोराहीमा कौशी ग्रुप स्थापना गरी एकीकृत सेवा प्रदान गर्ने लक्ष्यसहित क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट संचालनमा ल्याएका हुन् । युवाहरु रोशन दाहाल, मिनराज भाट, रजिव उल्लाह खान, मिनेश श्रेष्ठ, माधव पौडेल, किरण श्रेष्ठ, कपिल बर्मा र आशिष रानाले घोराही १५ शिवबस्ती टोलमा कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटबाट क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट सेवा संचालनमा ल्याएका हुन् ।

नवीन सोँच, प्रविधि र गुणस्तरीय सेवा एकैथलोमा प्रदान गर्ने गरी कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेट संचालनमा ल्याईएको कौशी ग्रुपका संचालक रोशन दाहालले जानकारी गराउनुभयो । करिब २ करोडको लागतमा संचालनमा आएको कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटबाट सहुलियत दररेटमा गुणस्तरीय सेवा पाउन सकिने उहाँले बताउनुभयो ।

खुला, शान्त अनि पूर्ण पारिवारिक वातावरण रहेको कौशीमा विवाह, पार्टी, पास्नी, भोजलगायत औपचारिक कार्यक्रम गर्न ४ सय क्षमताको पूर्ण प्रविधियुक्त बेन्क्वेट हल रहेको छ । अर्का संचालक रजिव उल्लाह खानको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण मिनराज भाटले गर्नुभएको थियो ।