Ad Area

गुरुकुलको विकासमा सबैको साथ र सहयोग आवश्यक : व्यवस्थापक भट्टराई[अन्तर्वार्ता]


दाङको घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी (शुक्रवार) मा विगत तीन वर्षदेखि माता पवित्रा देवी सांङ्वेद संस्कृत गुरुकुल (विद्यालय) सञ्चालन भइरहेको छ । २०७५ सालमा घोराही–१७ चौघेरादेखि सञ्चालनमा आएको गुरुकुल २०७९ जेठ महिनादेखि उत्तरबाहिनी क्षेत्रबाट सञ्चालन भइरहेको छ । गुरुकुलमा बालबालिकालाई आधुनिक शिक्षासँगै धर्मशास्त्र र व्यवहारिक ज्ञानलाई महत्व दिएर शिक्षा दिने गरिन्छ । जसका कारण पछिल्लो समय गुरुकुलमा पढ्ने बालबालिका समेत बढेका छन् ।

गुरुकुलमा दाङसहित प्युठान, अर्घाखाँची, बाँके र बर्दियाका करिब २५ जना बालबालिका अध्यययनरत रहेका छन् । गुरुकुल सञ्चालन भएको लामो समय भइसक्दा समेत आवश्यक पूर्वाधार विकासमा ढिलाई हुँदा विभिन्न खाले समस्या समेत भोग्दै आएका छन् । यसै सन्दर्भमा गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईसँग पत्रकार लीलाधर वलीले गरेको कुराकानी ।

— गुरुकुल भनेको के हो ?

माता पवित्रा देवी सांङ्वेद संस्कृत विद्यालय (गुरुकुल) २०२१ सालमा राष्ट्र गुरु योगी नरहरी नाथले स्थापना भएको हो । योगी नरहरी नाथको ध्यान दृष्टि परिसकेपछि उहाँले जग्गा दाता छेमकान्त धिताललाई भनेपछि उहाँले विद्यालयलाई दान गरेपछि विद्यालय सञ्चालन भएको हो ।

अहिले धेरै सरकार तथा निजी विद्यालय सञ्चालन भइरहेको समयमा गुरुकुलको किन आवश्यता प¥यो भन्ने प्रश्नमा जहाँ गुरु र शिष्यको परम्परा हुन्छ । जहाँ गुरुसँग विद्यार्थी अध्ययन गर्नका लागि जान्छन् । र, निःशुल्क रूपमा शिक्षा आदानप्रदान हुने निकाय गुरुकुल हो । गुरुकुल हुनका लागि बिहान उठ्ने बेलादेखि साँझ सुत्ने बेलासम्म हुने गतिविधि छन्, ती सबै गुरुकुलीय परम्परा अनुसार, ऋषि कुल परम्परा अनुसार हुने गर्दछन् ।

बैद्धिक कालमा ऋषिको सानिध्यमा गएर गुरुहरूको छत्रछायाँमा बसेर विद्या लिने परम्परा थियो । त्यही परम्परालाई अंगालेर गुरुकुल चलाएको छौँ । सबैले बुझ्ने गरीभन्दा गुरुकुल भनेको गुरु र शिष्यबिचको परम्परा हो । यहाँ पढ्दा बालबालिका बिग्रदैनन् र समाजका लागि आवश्यक योग्य जनशक्ति उत्पादन हुने गर्दछन् ।

— गुरुकुल शिक्षा किन आवश्यक छ ?

गुरुकुल शिक्षा मानिसलाई आफ्नो जीवनको महत्व सिकाउने परम्परासँगै घर, समाज र राष्ट्रका लागि योग्य नागरिक उत्पादन गर्ने गर्दछ । अहिले आधुनिक शिक्षाको विकासले गुरुकुल शिक्षा पछि परेको अवस्था छ । जसका कारण पढ्दै युवा जनशक्ति विदेशिने क्रम बढेको छ । गाउँघर वा हाम्रो समाजमा युवा पिढीलाई भेटाउन समस्या भइरहेको छ ।

राष्ट्रलाई मात्र गर्ने नागरिक भेटाउन समस्या भइरहेको समयमा शैक्षिक ज्ञानसँगै धार्मिक एवम् आध्यात्मिक ज्ञानका माध्यमबाट योग्य, सक्षम र नैतिकवान नागरिक उत्पादनका लागि गुरुकुल शिक्षाको महत्व छ । हामीले बालबालिकालाई आधुनिक शिक्षासँगै धार्मिक, सांस्कृतिक एवम् नैतिक शिक्षा सिकाउने काम गरिरहेका छौँ ।

— गुरुकुल सञ्चालन गर्ने सोच कसरी बनाउनुभयो ?

हामीले घोराही उपमहानगरपालिका–१७ चौघेरामा २०७५ सालमा गुरुकुल सञ्चालन गरेका थियौँ । सुरुमा सामान्य रूपमा सञ्चालन गरे पनि बुझ्दै जादाँ गुरुकुल भनेको गहल विषय भन्ने थाहा भयो । विद्यार्थीको कक्षागत वृद्धिसँगै गुरुको प्रवेशले हामीलाई गहन रूपमा सोच्न बाध्य बनायो । त्यही कारण पनि चौघेरामा सञ्चालन भएको गुरुकुललाई २०७९ जेठ १९ गतेदेखि घोराही–७ शुक्रवारबाट सञ्चालन गरेका हौँ ।

यो ठाउँमा २०२२ सालदेखि करिब २०५० सम्म संस्कृत शिक्षा पढाइ बिचमा छुटेको थियो । पछि हामीले राष्ट्र गुरु योगी नरहरी नाथको दृष्टिले समेत देखेको पवित्र ठाउँलाई रोजेर २०७९ जेठ १९ गतेदेखि गुरुकुल सञ्चालनमा लागेका हौँ । विस्तारै सबैको सात र सहयोग मिल्दै गएको छ ।

पढ्ने बटुक पनि थपिँदै गएका छन् । कतिपय बालबालिका आफ्नो रहरका कारण घरमा सल्लाह गरेर आउने गर्दछन् भने कतिपय बालबालिकालाई अभिभावकले पनि पठाउने गर्नुभएको छ । यो सकारात्मक पक्ष हो । गुरुकुलको सबैभन्दा धेरै विकास भएको देवघाट र त्यसपछि झापा जिल्ला हो । त्यहाँको तुलनामा कम भए पनि विस्तारै गुरुकुलमा आउने बालबालिका बढ्दै गएका छन् ।

— गुरुकुल भौतिक पूर्वाधारका रूपमा के कस्तो अवस्था रहेको छ ?

बाहिनी क्षेत्रमा गुरुकुल सञ्चालन भएको करिब तीन वर्ष भयो । करिब दुई दशकअघि आश्रम सञ्चालन भए पनि पछिल्लो समय पूर्ण रूपमा खण्डहर अवस्था रहेको थियो । त्यही ठाउँमा २०७९ सालदेखि हामीले माता पवित्रा देवी सांङ्वेद संस्कृत विद्यालय (गुरुकुल) सञ्चालन गरेका छौँ । नयाँ ठाउँ भएकाले पूर्ण रूपमा पूर्वाधार बन्न सकेका छैनन् तर मन्दिर, कुटी, आवासलगायतका संरचना निर्माण गर्दै ठाउँलाई व्यवस्थित गर्ने कार्य गरिरहेका छौँ ।

जग्गा प्रशस्त रहेको छ । तर त्यसलाई व्यवस्थापन गर्न सकेका छैनौँ । गुरुकुलसँगै पढ्ने बटुकको सुरक्षाका लागि तारबारसँगै गेट निर्माण गर्नु पर्ने मुख्य आवश्यक छ । त्यसका लागि यस क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बजेटको व्यवस्था गर्दिनुभएको छ । उक्त बजेटबाट यो वर्ष पर्खाल निर्माण गर्ने छाँै ।

गुरुकुलको व्यवस्थित रूपमा विकास गर्दै धार्मिक एवम् ऐतिहासिक तीर्थस्थलका रूपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गर्नु पर्ने आवस्था रहेको छ । गुरुयोजना निर्माणका लागि घोराही उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । सुनेका छौँ, कार्यपालिकाबाट निर्णय समेत भइसकेकाले यसै वर्ष गुरुयोजना समेत बन्ने छ ।

गुरुयोजना बनेपछि उत्तरबाहिनी क्षेत्रमा गुरुकुलका लागि आवश्यक पर्ने मठ, यज्ञस्थल, पढ्नका लागि भवन, धर्मशाला, गौशाला, गंगा जल ल्याउन नदी जानका लागि सिढी, जडिबुटी क्षेत्र, नदीमा तटबन्ध गर्नेलगायत निर्माण हुने छन् । त्यसले उत्तरबाहिनी क्षेत्रलाई धार्मिक पर्यटनका रूपमा अघि बढाउनका लागि धेरै सहयोग गर्नेछ । यी सबै पूर्वाधार निर्माण गर्दै प्रचारप्रसार गर्नसके उत्तरबाहिनी क्षेत्रलाई उत्कृष्ठ धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ ।

यो गुरुकुल जिल्लामा भएको एक मात्र गुरुकुल हो । अहिले गुरुकुलमा दाङसहित प्युठान, बाँके, बर्दिया, अर्घाखाँचीका बालबालिकासँगै एकजना नेपाली मुलका भारतमा बस्दै आएका बालक समेत पढिरहेका छन् ।

भौतिक पूर्वाधारसँगै गुरुकुलमा विद्यार्थीलाई पढाउनका लागि विषयगत शिक्षकहरूको पनि समस्या भइरहेको छ । अंग्रेजी, गणित, नेपाली पढ्नलाई समस्या नभए पनि बेद, कर्मकाण्ठ, संस्कृत भाषा र व्याकरण पढाउनका लागि विषयगत शिक्षकको समस्या छ । त्यसको व्यवस्था गरिदिनसके बालबालिकालाई पढ्नका लागि थप सहजता हुने छ ।

— गुरुकुलको दीर्घकालीन विकासका लागि के गर्न आवश्यक छ ?

बाहिनी क्षेत्रमा रहेको दाङको एक मात्र गुरुकुल हो । नयाँ भए पनि प्रशस्त सम्पत्ति रहेको छ तर व्यवस्थितसँगै प्रचारप्रसारको आवश्यकता छ । पूर्वाधार विकाससँगै गुरुकुललाई व्यवस्थित गर्नका लागि स्थानीय सरकार, निजी क्षेत्रसँगै बौद्धिक वर्ग, स्थानीयबासी सबैको साथ र सहयोग आवश्यक छ ।

सबैको साथ र सहयोगबाट गुरुकुललाई व्यवस्थित गर्नु पर्ने छ । स्कुलको नाममा करिब १६ विगाह जग्गा रहेको छ, त्यसलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्दै आम्दानीसँग जोड्न सकियो भने गुरुकुल सञ्चालनका लागि समस्या पर्ने छैन । त्यससँगै गुरुकुलको आम्दानी बढाउनका लागि प्रचारप्रसार गर्दै आन्तरिक तथा बाध्य पर्यटकलाई आकर्षण गर्नु पर्ने छ ।

त्यसका लागि यस क्षेत्रमा आवश्यक पूर्वाधारसँगै लगानी बढाउन आवश्यक छ । अहिले केही व्यक्तिहरूले आफन्तको सम्झनामा अक्षकोष स्थापना गर्ने काम बढेको छ । यसले गुरुकुललाई आर्थिक रूपमा बलियो बनाउन सहयोग गर्नेछ । गुरुकुलका लागि यज्ञ लगाउने सोचमा रहेका छौँ, सबैको साथ र सहयोग मिल्यो भने त्यसबाट पनि केही पैसा सङ्कलन हुने आशा रहेको छ ।

— उत्तर बाहिनी भनेको के हो, यसको महत्व कति छ ?

जुनसुकै ठाउँमा नदी, खोलाहरूको प्रभाव उत्तरबाट दक्षिणतिर भएको देखिन्छ । प्राय विरलै ठाउँहरूमा दक्षिणबाट उत्तरतर्फ नदी तथा खोलाहरू बगेको देख्न सकिन्छ । त्यही अवस्था छ, घोराही उपमहानगरपालिका–७ शुक्रवारमा पनि सरयु नदी (बबई नदी) दक्षिणबाट उत्तरतर्फ बगेको छ ।

त्यही हुनाले यसलाई उत्तरबाहिनीका रूपमा चिन्ने गरिन्छ । उत्तर बाहिनीको महत्व जहाँजहाँ गंगा उत्तरबाट दक्षिणतिर बग्ने गर्दछिन्, त्यसलाई धार्मिक दृष्टिकोणले पवित्र मान्ने गरिन्छ । जसरी इन्डियाको बनारस र नेपाल गोकर्णलाई लिने गरिन्छ । धेरै मानिसहरू पितृको स्राद गर्न बनारस तथा गोकर्ण जाने गर्दछन् । यसरी बग्ने गंगास्थलमा पितृ कार्य गर्दा पितृको उद्धार हुने, मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास छ ।

यस्ता ठाउँमा पितृ कार्य गर्दा परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास छ । यो पहिलेदेखि रहे पनि ओझेलमा परेको थियो । चौघेरामा रहेको गुरुकुल शुक्रवारमा आएसँगै उत्तरबाहिनी क्षेत्र पनि चर्चामा आएको छ । उत्तर बाहिनी पनि पितृ कार्यका लागि महत्व बोकेको ठाउँ हो । जहाँ पछिल्लो समय पितृ कार्यका लागि मानिस आउने गर्नुुहुन्छ ।

— अन्त्यमा केही भन्नु छ ?

धेरै कुरा पहिले नै भनिसकेको छु । यो जिल्लाको एक मात्र गुरुकुल हो । यसको विकासमा सबैको साथ र सहयोग आवश्यक छ । समाजमा हिन्दु धर्मका हरेक कार्यहरू गर्नका लागि ब्राहमण, पण्डितको आवश्यक छ तर त्यसका लागि पढ्ने जिल्लामा व्यवस्था नहुँदा कतिपय बालबालिका देवघाटदेखि भारतका विभिन्न ठाउँ जानु पर्ने बाध्यता रहेको छ ।

यो गुरुकुललाई राम्रोसँग विकास गर्न सकियो भने कसैलाई पनि संस्कृत र आफ्नो धर्म र सस्कारका बारेमा पढ्नका लागि बाहिर जानु पर्ने छैन । अर्काे कुरा उत्तर बाहिनी भनेको पवित्र ठाउँ हो । दक्षिणबाट उत्तरतर्फ पानी बग्ने नदी खोला बिरलै मात्रामा पाइन्छन् । हाम्रो ठाउँमा सरयु नदी दक्षिणबाट उत्तरतर्फ बग्नु धार्मिक दृष्टिले महत्वपूर्ण रूपमा लिनुपर्छ । यसको विकास र प्रचार गर्नु पर्ने दायित्व हामीमा रहेको छ ।

यसको महत्व बुझ्ने प्रचारप्रसार गर्न सकेमा यसलाई धार्मिक पर्यटकीयस्थलका रूपमा समेत विकास गर्न सकिन्छ । यस हिसारुले पनि आफ्ना व्यक्तिगत विचार र गुरुकुलका बारेमा आफ्नो धारना राख्ने अवसर दिनुभएकोमा तपाईलाई धन्यावाद दिन चाहान्छु ।