दाङकी छोरी सोनम ‘द भ्वाइस किड्स नेपाल’ को सेमिफाइनलमा, जिताउन विद्यालय र समाज सक्रिय

दिपक जिएम
दाङ, १५ साउन । ‘द भ्वाइस किड्स नेपाल’ को चौथो संस्करणले नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ प्रतिभाहरूलाई उजागर गरिरहेको छ । यसै कार्यक्रममार्फत आफ्नो स्वर, आत्मविश्वास र कलालाई स्थापित गर्दै अगाडि बढिरहेकी छिन्, दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ की होनहार बालप्रतिभा सोनम श्रेष्ठ । आफ्नो उत्कृष्ट प्रस्तुतिका कारण दर्शक र निर्णायकको मन जित्न सफल हुँदै कोच मिलन नेवारको टिमबाट सेमिफाइनल चरणमा प्रवेश गरिसकेकी छिन् । उनको गायनमा रहेको मिठास, स्वरको नियन्त्रण, शब्दप्रति सम्मान र भावनात्मक सम्प्रेषणले उनलाई अरु प्रतिस्पर्धीहरूभन्दा अलग बनाएको देखिन्छ ।
गीतहरूमा देखाएको उनको प्रस्तुतिले नेपाली साङ्गीतिक मञ्चमा उनको उज्ज्वल भविष्य संकेत गरिरहेको छ । अहिलेको चरणमा दर्शकहरूको भोट नै निर्णायक बन्ने भएकाले सोनमको जित सुनिश्चित गर्नका लागि दाङका विद्यालय, शिक्षक, समाजसेवी, व्यापारी र सञ्चारकर्मीहरू एकजुट भएर अभियानमा जुटेका छन् । यसैक्रममा बुधबार सोनम अध्ययनरत विद्यालय जनज्योति विद्यामन्दिर, घोराही–१५ मा फेन्सी तथा रेडिमेड व्यवसायी समिति घोराही नगर अध्यक्ष निरञ्जन श्रेष्ठ, पत्रकार दीपक जिएम, छवि पुरी र चन्द्रप्रकाश नेपालीसहितको टोलीले प्रधानाध्यापक दिब्य अधिकारी तथा विद्यालयका विद्यार्थीहरूलाई भेट गर्दै सोनमलाई भोट गर्न आग्रह गरेका छन् । टोलीले विद्यार्थीहरूसँग भेट गर्दै सोनमको पक्षमा भोट गर्न अपिल गरेको थियो ।
विद्यालयमा अध्ययनरत छात्र–छात्रामाझ सोनमको संगीत यात्राबारे जानकारी दिँदै उनी दाङकै मात्रै नभई सम्पूर्ण देशका बालबालिकाको प्रेरणाको पात्र बन्न पुगेकी छन् भन्ने कुरामा जोड दिइएको थियो। साथै, ‘खल्ती’ एप प्रयोग गरेर कसरी भोट गर्ने भन्ने प्रक्रियासमेत विद्यार्थीहरूलाई सिकाइएको थियो । त्यसै बुधबार नै दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, शिक्षक राजेन्द्र श्रेष्ठसहितको टोलीले घोराही उपमहानगरपालिका–१४ मा रहेको अर्को विद्यालय गोर्खा स्कुलमा पनि पुगेर त्यहाँका प्रधानाध्यापक मानसिंह घर्तीसँग भेट गरको छ । भेटपछि विद्यालयको प्रवेशद्वारमा भोट फर सोनम लेखिएको ब्यानर टाँसिएको छ । जसले विद्यालय आउने विद्यार्थी, अभिभावक र सर्वसाधारणलाई भोट गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
त्यति मात्र नभई, विहीबार बिहान १० बजे, गोर्खा स्कुलको प्रार्थना कार्यक्रममा सोनम श्रेष्ठको बारेमा जानकारी दिने र भोट माग्ने कार्यक्रम समेत तय गरिएको छ । सोनम श्रेष्ठको प्रस्तुतिहरू हेर्दा हरेक गीतमा उनको स्वरले दर्शकलाई भावुक बनाउने शक्ति राख्दछ । बालपनमै यस्तो साङ्गीतिक परिपक्वता देखाउने प्रतिभा विरलै पाइन्छ । यही विशेषताले गर्दा देशभरि उनको चर्चा भइरहेको छ । अहिलेको चरणमा दर्शकको भोटकै आधारमा प्रतिस्पर्धीहरू अगाडि बढ्ने वा पछि पर्ने निर्णय हुने भएकाले, सोनम श्रेष्ठ आफैले पनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग भोट माग्दै आह्वान गरेकी छन् । उनले भनीन् — “म दाङकी छोरी हुँ भन्ने गर्वका साथ राष्ट्रिय मञ्चमा उभिएकी छु । तपाईंहरूको साथ, माया र विश्वास नै मेरो जितको आधार हो ।
कृपया ‘खल्ती’ एप प्रयोग गरेर मलाई भोट गर्नुहोस्।” स्थानीयस्तरबाट सुरु भएको साङ्गीतिक यात्रा आज राष्ट्रिय मञ्चमा आइपुगेको छ । यो केवल सोनमको व्यक्तिगत प्रगति होइन, दाङ जिल्लाकै सांस्कृतिक पहिचान हो । त्यसैले दाङवासीले मात्र होइन, देशभरिको जनताले उनको प्रयासको कदर गर्दै उनलाई भोट मार्फत जिताउन भूमिका खेल्नुपर्ने बेला आएको छ । यो अवसर केवल एउटा बालगायिकालाई जिताउने मात्र होइन, सम्पूर्ण बालबालिकामा पनि सम्भावनाको ढोका खोल्ने बाटो हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठले भन्नुभयो,–‘सबैले मिलेर सोनम श्रेष्ठलाई जिताउन सक्छौं । सोनम हाम्रो छोरी हो, हाम्रो गौरव हो । हामीले दिएको सानो सहयोगले उनलाई ठूलो मञ्च दिलाउन सक्छ । खल्ती एप खोली, ‘The Voice Kids Nepal’ को भोटिङ सेसनमा गएर Team Milan अन्तर्गत Sonam Shrestha छानौँ, भोट गरौँ , अनि हाम्रो दाङकी छोरीलाई राष्ट्रिय उपाधि जिताऔँ।,
राजमार्ग