Ad Area

समाज कल्याण केन्द्रको ‘समाज कल्याण’ले नागरिकलाई लाभ


छबि पुरी
तुलसीपुर, १७ साउन । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ बर्तिबाङकी ५५ वर्षीया पवित्रा खड्कालाई पेट सम्बन्धी पुरानो समस्याले सताउने गरेको छ । उपचारका लागि धेरै ठाउँमा धाउनु भयो । तर, निको भएन । दाङको तुलसीपुर १९ कुटेचौरमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेका थाहा पाएपछि उहाँ छोरीका साथमा रोल्पाबाट दाङ झर्नुभयो ।

समाज कल्याण केन्द्र नेपाल, दाङले कुटेचौरस्थित जनजागरण माविमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. प्रविण योगी र जनरल फिजिसियन बाचस्पति सुवेदीले आवश्यक परामर्शसहित औषधी दिनुभयो ।

तुलसीपुर १९ पत्थरपुरकी ८५ वर्षीया पम्फा वलीको अघिल्तिरको दुईटा दाँत हल्एिर खान पनि नबन्ने अवस्था थियो । शिविरमा उपचारका लागि आउनुभएकी वलीको भुवनेश्वर भुसालले परामर्शसहित दाँत उखेलिदिएर औषधी दिनुभयो । ४१ कुटीचौरकी ४१ वर्षीया कल्पना केसीलाई तल्लो पेट दुख्ने समस्या हुन थालेपछि उपचार गराउन जाने समय जुरेको थिएन । गाउँमै शिविर आएपछि उहाँलाई उपचार सेवा लिन सहज भयो । उहाँले वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. प्रविण योगीसँग पाठेघर जँचाउनुका साथै परामर्श सेवा पनि लिनुभयो । उहाँ जस्तै, बाँसगढीकी ७० वर्षकी बेलु बिक, पुष्पा थापा ४३ कुटीचौरलगायत १ सय २० जनाले यौन तथा प्रजनन् स्वास्थ्य उपचार सेवा लिनुभयो ।


कुटीचौरका ५४ वर्षीय लालबहादुर वलीलाई ढाड दुख्ने, औला चिलाउने समस्या छ । जनरल फिजिसियन डा. सुवेदीले औषधी उपचारसँगै परामर्श गरेपछि राहत मिलेको वलीले बताउनुभयो । गाउँघरमा अझै पनि रोग लागेको थाहा नपाउने अनि लागि हालेमा पनि भन्न लजाउने परिपाटीका कारण रोग पालेर बस्ने समस्याले अकालमा ज्यान जाने जोखिम बढेपछि समाज कल्याण केन्द्र, नेपालले गाउँबस्तीका नागरिकको उपचारमा पहुँच पुर्याउन निः शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा स्त्री रोग सेवा, जनरल उपचार सेवा र दन्त रोग उपचार सेवा प्रदान गरिएको थियो । जसमा १ सय ५० जनाले दन्त रोग सम्बन्धी सेवा, १ सय १७ जनाले फिजिसियन उपचार सेवा तथा १ सय २० जनाले स्त्री रोग सम्बन्धी निःशुल्क उपचार तथा औषधी सेवा लिएका छन् । शिविरमा उपचारका लागि आएका मध्ये अधिकांश महिलाहरुमा यौन तथा प्रजनन् स्वास्थ्य समस्या पहिचान भएको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. प्रविण योगीले बताउनुभयो ।

जनरल फिजिसियन बाचस्पति सुवेदी, दन्त रोग विशेषज्ञ डा. भुवनेश्वर भुसालले शिविरमा आएका बिरामीको उपचार गर्नुभएको थियो ।
शिविर समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यमा शनिबार शिविर आयोजना गरिएको हो ।

शिविर उदघाटन गर्दै मन्त्री न्यौपानेले समुदायमा रोग लुकाएर बसेकाहरुलाई स्वस्थ मानव निर्माण गर्ने अभियानले निरोगी बनाउन सघाउने बताउनुभयो । पछिल्लो समय नसर्ने रोगका कारण मानिसको जीउज्यानको जोखिम बढ्दै गएको तथा आर्थिक नोक्सानी हुने अवस्था सिर्जना भएको हुँदा हरेकले नियमित स्वास्थ्य जाँच गराउन आवश्यक रहेको बताउनुभयो ।

समाज कल्याण केन्द्रले दूरदराजका नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुर्याउँदै सचेतना जगाउने प्रयास सराहनीय रहेको भन्दै अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो । नेपाली कांग्रेस तुलसीपुर १९ को व्यवस्थापनमा गरिएको शिविरमा रुपनी मेडिकल हल नारायणपुर, मौसम फार्मेसी घोराही, पिप्लद मेडि सेल्स घोराही र कालिका मेडिकल हल घोराहीको सहयोग रहेको थियो ।

महिला, बालबालिकाहरुको शिक्षा, स्वास्थ्यसँगै उद्यमशीलताको क्षेत्रमा स्थापना कालदेखि नै विशेष प्राथमिकताका साथ काम गर्दै आएको केन्द्रकी अध्यक्ष गौतमले बताउनुभयो । महिलाहरुको स्वास्थ्य उपचारसँगै उद्यमशीलता विकासका कार्यक्रम गर्दै आएको हुँदा धेरै महिलाहरु स्वरोजगार बनेर आत्मनिर्भर भईरहेको उहाँले बताउनुभयो ।

यसैगरी, अभिभावक विहिन, जेहेन्दार बालबालिकाहरुको अभिभावकत्व लिएर निःशुल्क शिक्षा दिने काममा पनि केन्द्रले भुमिका खेल्दै आएको अध्यक्ष गौतमले बताउनुभयो । यसैगरी, समाजले अहिले भुसको आगो झै सल्किरहेको लागु औषध दुव्र्यसन न्यूनीकरणका लागि विद्यालय, समुदाय स्तरमा सचेतनाका कार्यक्रम पनि निरन्तर गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव हिमबहादुर डाँगी, २ ख का सभापति अभियान बस्नेत, अग्रज नेता गोविन्द मजगैया, तुलसीपुर १९ का सभापति पदम वलीलगायतले गाउँबस्तीका महिला, ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारका लागि निःशुल्क शिविर सञ्चालन गरेर समाज कल्याण केन्द्रले निकै राम्रो काम गरेको बताउनुभयो ।

केन्द्रकी उपाध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नवजागरण माविका सहायक प्रधानाध्यापक गोपाल खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण सचिव जानका केसीले गर्नुभएको थियो ।