Ad Area

घोराहीमा चार सय बढीलाई ११ सय युनिट निशुल्क रगत


लीलाधर वली
दाङ, १६ साउन । रक्त सञ्चार केन्द्रबाट एक वर्षको अवधिमा घोराहीका चार सय ८१ जनाले निःशुल्क रगत प्राप्त गरेका छन् । घोराहीबासीलाई निःशुल्क रगत उपलब्ध गराउने उपमहानगरपालिकाको निर्णय अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा रक्त सञ्चार सेवा केन्द्र घोराहीबाट चार सय ८१ जनाले एक हजार एक सय १५ युनिट रगत निःशुल्क प्राप्त गरेका हुन् ।

जस अनुसार साउनमा ३७ महिला र १३ पुरुष गरेर ५० जनाले एक सय १२ युनिट, भदौमा २५ महिला र १२ पुरुष गरेर ३७ जनाले ७८ युनिट, असोजमा १९ महिला र आठ पुरुष गरेर २७ जनाले ६३ युनिट, कात्तिकमा ३२ महिला र १६ पुरुष गरेर ४८ जनाले एक सय २३ युनिट, मङ्सिरमा ३० महिला र १८ पुरुष गरेर ४८ जनाले एक सय २९ युनिट, पुसमा २१ महिला र १६ पुरुष गरेर ३७ जनाले ८० युनिट, माघमा १९ महिला र १७ पुरुष ३६ जनाले ८६ युनिट, फागुनमा २९ महिला र १३ पुरुष गरेर ४२ जनाले ९९ युनिट निःशुल्क रूपमा रगत प्राप्त गरेको रक्त सञ्चार केन्द्र दाङले जनाएको छ ।

यसैगरी चैतमा २६ महिला र २८ पुरुष गरेर ५४ जनाले एक सय १७ युनिट, वैशाखमा २० महिला र २१ पुरुष गरेर ४१ जनाले एक सय १० युनिट, जेठमा १५ महिला र १७ पुरुष गरेर ३२ जनाले ६२ युनिट, असारमा १६ महिला र १३ पुरुष गरेर २९ जनाले ५६ युनिट रगत निःशुल्क रूपमा प्राप्त गरेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख दीलिप न्यौपानेले जानकारी दिएका छन् ।

प्रमुख न्यौपानेका अनुसार वडा कार्यालयबाट बिरामीले सिफारिस लिएमा रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत प्राप्त गर्ने गरेका छन् । बिरामीलाई निःशुल्क रगत उपलब्ध गराएको सङ्ख्याका आधारमा घोराही उपमहानगरपालिकाले प्रतियुनिट एक हजारका दरले रक्त सञ्चार केन्द्रलाई पैसा उपलब्ध गराउने गरेको छ ।

घोराहीमा आर्थिक वर्ष ०८०÷०८१ मा चार सय चार जनाले नौ सय २३ युनिट रगत लिएका थिए । आर्थिक वर्ष ०८१÷०८२ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सामाजिक सेवा इकाइमार्फत् चार सय ५८ युनिट रगत निःशुल्क रूपमा बिरामीले प्राप्त गरेका छन् ।

दुई सय ६८ युनिट रगत सङ्कलन

यसैबिच ६० औँ रक्त सञ्चार दिवसका अवसरमा जिल्लामा दुई सय ६८ युनिट रगत सङकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति दाङले ६० औँ रक्त सञ्चार दिवसका अवसरमा सञ्चालन गरेको रक्तदान एवम् रक्तदाता उत्प्रेरणा कार्यक्रमबाट एक सय चार जना पुरुष र ८४ जना महिला गरेर दुई सय छ जनाबाट दुई सय ६८ युनिट रगत सङ्कलन भएको हो ।

जिल्लामा रक्तदान एवम् रक्तदाता उत्प्रेरणा कार्यक्रम साउन ४ देखि १३ गतेसम्म मनाइएको थियो । कार्यक्रम अन्तर्गत राप्ती बबई क्याम्पस तुलसीपुरबाट पाँच महिला र १५ पुरुष गरी २० जना, ज्ञानदीप कलेज तुलसीपुरबाट २६ महिला र २७ पुरुष गरेर ५३ जना, हिमाल एकाडेमी तुलसीपुरबाट १६ महिला र २९ पुरुष गरेर ४५ जना, मार्क कलेज घराहीबाट ११ महिला र १० पुरुष गरेर २१ जनाबाट रगत संकलन भएको थियो ।
त्यसैगरी रेडिमेट तथा फेन्सी व्यवसायी संस्था घोराहीबाट सात महिला र ५९ पुरुष गरेर ६६ जना र ड्रिस इन्टरप्राइजेज घोराहीबाट १९ महिला र ४४ पुरुष गरेर ६३ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।

प्रमुख न्यौपानेका अनुसार रक्तदाता उत्प्रेरणा कार्यक्रम अन्तर्गत रेडक्रसले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्लाका १८ वटा विद्यालयमा कार्यक्रम गरेर एक हजार नौ सय ४९ जना विद्यार्थीलाई रक्त सञ्चार केन्द्र र रत्तदानसम्बन्धी जानकारी गराएको छ । जसमा नौ सय ८५ महिला र नौ सय ६४ पुरुष सहभागी भएका थिए ।
नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले जिल्लामा रक्तदाताको सङ्ख्या बढाउन सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताएका थिए । रक्तदानसम्बन्धी ज्ञानको अभावका कारण धेरै मानिस रक्तदान गर्न डराउने गरेको भन्दै सहभागीले विद्यालय तहदेखि रक्तदानसम्बन्धी बालबालिकालाई जानकारी दिनुपर्ने बताएका थिए ।

सहभागीले घोराहीमा रहेको ब्लड कम्पोनेन्ट मेसिनले गर्दा रक्ततत्व छुट्याउन सकिने र त्यसले गर्दा बिरामीलाई आवश्यकता अनुसार रगत उपलब्ध गराउन सहज भएको भन्दै केन्द्रमा अर्को मेसिन थपका लागि सबैले पहल गर्नुपर्ने बताए ।

जिल्लामा एउटा मात्र ब्लड कम्पोनेन्ट मेसिन भएको र उक्त मेसिन बिग्रिएको अवस्थामा बिरामीका लागि चाहिने रगत ल्याउनकै लागि नेपालगन्ज वा बुटवल जानुपर्ने अवस्था आउन सक्ने भएकाले थप अर्काे ब्लड कम्पोनेन्ट मेसिन ल्याउन प्रदेश सरकार, स्थानीय सरकारलगायतका सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने सहभागीको जोड थियो ।

रक्त सञ्चार केन्द्रका तर्फबाट स्थानीय तथा प्रदेश सरकारका प्रमुखलगायतलाई पटक पटक भन्दा पनि ध्यान नदिएको भन्दै ब्लड कम्पोनेन्ट मेसिन ल्याउने कार्यमा गम्भीर बन्नसमेत आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शरद अधिकारी, नेपाल रेडक्रस सोसाइटी घोराही शाखा सभापति थम्मन चौधरी, घोराही शाखा सचिव इन्द्र बुढाथोकीलगायतले सझाव व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।