Ad Area

‘लकडाउनको उपहार’ कविता संग्रहको समिक्षा


दाङ, २४ मंसिर । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समिक्षा कार्यक्रमअन्तर्गत १८३औं श्रृङखलामा साहित्यकार मित्र ‘उराठी’ गौतमको कविता संग्रह ‘लकडाउनको उपहार’ को समीक्षा गरिएको छ ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा शुक्रबार घोराहीमा भएको कार्यक्रममा साहित्यकार गौतमको कृति लकडाउनको उपहारको समीक्षा गरिएको हो । राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता तथा साहित्यकार एवं समालोचक डा. अमर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विपद्का समयमा जन्मिएको कृति लकडाउनको उपहार सिंगो श्रृष्टि र प्रकृतिको विम्बका रुपमा आएको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले समकालीन नेपाली समाजको यथार्थतालाई कविले कृतिका माध्यमबाट उतारेको बताएका थिए । समाजमा रहेको आलोचनात्मक चेतका बारेमा कविताले प्रस्फुटन गर्न सकेको भन्दै उनले पहिलो कृतिका माध्यमबाट कवि सशक्त रुपमा देखा परेको बताएका थिए । उनले साहित्यका माध्यमबाट नेपाली समाजको विविधतालाई सिर्जनात्मक शैलीमा पंक्तिबद्ध गरेर सामाजिक जागरणका लागि कृतिले चेतना प्रवाह गरेको बताए ।

कोरोना महामारीका कारण लकडाउनको प्रभावमा कविले महसुस गरेजस्तै सिंगो मानवजातिले गरेको हुँदा भोलिका दिनमा आउन सक्ने अरु विपद्मा सचेतना र जागरण दिन बलियो सन्देशवाहक बनेको बताए । कविता संग्रहको समीक्षा गर्दै साहित्यकार तथा उपप्राध्यापक निमग्मा घिमिरेले लकडाउनका क्रममा सिर्जना गरिएको कृतिले पृथ्वीमा मानवजातिको उत्पत्ति भएपछि प्रकृतिमाथिको दोहनले निम्त्याएको असर, प्राकृतिक सुन्दरतालागतका बारेमा बोलेको बताएकी थिइन् । कृतिमा समावेश कविता मानवजातिको पहिचान र प्रकृतिबीचको द्वन्द्वका असरले मानव सभ्यतामा प्रभाव परेको विषय उठान गरिएको टिप्पणी गरेका थिए ।

कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले लकडाउनको समयलाई उपयोग गरेर साहित्यकारले गौतमले साहित्य सिर्जनाका माध्यमबाट चेतना प्रवाहका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । शाखा उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट हुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad