Ad Area

लैगिक हिंसा विरुद्ध सामुहिक आवाज आवश्यक


घोराही २४, मंसीर । लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दाङ जिल्लाको अवस्था तथा मानवअधिकारको कार्यान्वयनको बारेमा विमर्श गरिएको छ ।

हिंसारहित समाज निर्माणका लागि सबै सरोकार संघसंस्थाहरुको सामुहिक आवाज बुदल्न गर्नुपर्नेमा जोड दिईएको छ । जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, ग्रामीण महिला उत्थान केन्द्र, मानव अधिकार सञ्जाल, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, ओरेक नेपाल र सिसा नेपालको संयुक्त आयोजनामा शुक्रबार कार्यक्रम गरि जिल्लामा लैंगिक हिंसाको वर्तमान अवस्था बारे गहन रुपमा छलफल भएको हो ।

समाजमा रहेका विभिन्न सामाजिक मुल्यमान्यता, कुरीति, संस्कार तथा अन्धविश्वासको जगमा हुने हिंसाको अन्त्यका लागि राज्य पक्ष र संघसंस्थाले थालेको प्रयासले केही सकारात्मक सन्देश दिएपनि यो पर्याप्त हुन नसक्दा अवशेषका रुपमा देखा पर्ने गरेको बताइएको छ । मानिसको व्यवहारमा आउनुपर्ने सकारात्मक परिवर्तन अझै पनि आउन नसक्नुका कारण पनि सबै क्षेत्रमा हिंसाले जरा गाडेको जिकिर गरिएको छ ।

मानव अधिकार सञ्जालका अध्यक्ष केशव कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिवसीय अभियानले समाजमा देखा परेको समस्या, हिंसाका कारण बारे बारम्बार सचेतना दिँदै सुधारको प्रयास थालेकोमा यसका लागि सम्वद्ध पक्ष प्रतिवद्ध भई व्यवहार परिवर्तनमा जान सक्नुपर्नेमा जोड दिईएको छ । घर, विद्यालय, सार्वजनिक संघसंस्था, नीजि क्षेत्र, संगठनहरुमा विभिन्न नाममा हुने हिंसाका कारण पर्ने नकारात्मक असरले सिंगो समाजलाई नै दुर्गन्धित बनाउने हुँदा सभ्य नागरिकको रुपमा स्थापित गराउन सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याईएको छ ।

सो अवसरमा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जस्तो सुकै हिंसामा परेकाहरुको उद्धार र पुनस्र्थापनामा प्रहरी संगठन प्रतिवद्ध रहेको बताए । नागरिकको सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुल धर्म रहेकाले यसका लागि २४ सै घण्टा सेवामा तत्पर रहेको बताए । कतिपय अवस्थामा प्रहरीको आँखा छलेर हुने आपराधिक तथा हिंसाका घटनामा पनि ढिलो चाँडो अपराधी नियन्त्रण गर्न सफल भएको बताए । सबैको सामुहिक प्रयासबाट अपराधरहित समाज बनाउन सकिने हुँदा एकअर्कामा सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा ओरेककी जिल्ला संयोजक ईश्वरी थापाले जिल्लामा भएका हिंसाको अवस्था बारे प्रस्तुतीकरण गरेकी थिईन् । कस्तो अवस्थामा र कुन समुह बढीमा मात्रा हिंसामा परेका छन् भन्ने बारेमा उनको प्रस्तुति रहेको थियो । यस्तै, ग्रामीण महिला उत्थान केन्द्र हीतबहादुर थापाले लैगिक हिंसाको असर र नियन्त्रणका लागि सरोकार पक्षको भुमिका के रहने बारे अवगत गराएका थिए ।

Blog Post Ad

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, इन्सेक सहजकर्ता विनोद केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, दाङ देउखुरी होटल व्यवसायी समिति निवर्तमान अध्यक्ष रुद्रबहादुर डाँगी, मानव अधिकार तथा वातावरण संरक्षण केन्द्रका प्रदीप मज्गैया, नेपाल परिवार नियोजक संघ दाङ शाखा सभापति निर्मला गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संघकी सचिव लक्ष्मी रानालगायतले आआफ्नो धारणा राखेका थिए ।

जिल्लास्थित सरोकार निकायका सम्वद्ध पदाधिकारी उपस्थित कार्यक्रममा सहभागीहरुलाई ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले धन्यवाद ज्ञापन गर्दा कार्यक्रमको सहजीकरण महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी जिल्ला अध्यक्ष हुमा डिसीले गरेकी थिईन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गत मंसीर ९ का दिन सुरु भएकोमा शुक्रबार समापन गरिएको हो ।

Blog Post Ad Blog Post Ad