Ad Area

कानून प्रयोग गरेर भएपनि मानवअधिकार संवर्द्धनमा प्रतिवद्ध छु-प्रजिअ रेग्मी


घोराही २४, मंसीर । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाको शान्ति, सुरक्षा, मानवअधिकारको रक्षाका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् ।

७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शुक्रबार घोराहीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले नागरिकका असिमित आकांक्षाका बीच आफुले पाएको अधिकारका माध्यमबाट शान्ति सुरक्षा, विकास निर्माण, विकासको अधिकार, उपभोक्ताको अधिकार, बजार अनुगमन, मानवअधिकारको रक्षा, अपराध नियन्त्रणलगायतका कुरामा समन्वय गर्ने, नियमनका लागि प्रभावकारी सहभागीता जनाउने र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने प्रतिवद्धता जनाए । कुनै कारणवश कुनै पक्षबाट जिम्मेवार रुपमा काम वा सेवा प्रवाह हुन नसकेको अवस्थामा कानूनको प्रयोग गर्दै कारवाहीको प्रकृया पनि अघि बढाउने उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा र ग्रामीण महिला उत्थान केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रेग्मीले आफु जिल्लामा प्रमुख प्रशासक भएर नआउँदै नागरिकका अनेकन प्रश्न र जिज्ञासाहरुको सामना गर्नुपरेको जनाउँदै यहाँका नागरिकमा विकास, शान्ति सुरक्षा र सुशासनका विषयमा निकै चासो रहेको बताए । ‘म दाङ आएकै थिएन, कतिपयले यो फोरलेन सडक कहिले बन्छ सिडिओ साप भनेर सोध्नुभयो, अरु थुप्रै कामहरुका बारेमा चासो नियमित राख्ने गर्नुहुन्छ,’ उनले भने, ‘विकास निर्माण र सामाजिक क्षेत्रमा भईरहेका यावत गतिविधिमा जिल्लाबासीले धेरै अपेक्षा गर्नुभएको छ ।’

शुरुवाती चरणबाटै अलपत्र सडकको काम, पुल पुलेसाका कुरा, नदीजन्य सामग्रीका विषय, अपराध नियन्त्रणका कुरा, नागरिकलाई सार्वजनिक निकायबाट प्रदान हुने सेवाका कुरा बारम्बार उठ्नु भनेको अझै पनि सेवा प्रदायक संस्थाहरुका सुधारका काम गर्न निकै रहेको प्रष्ट हुने बताए । उनले आफु जिल्लाको प्रमुख भएको हुँदा सबै सरोकार पक्षसँग निरन्तर सम्वाद गर्दै नागरिकको मानवअधिकार कुनै पनि हालतमा हनन् हुने गरी अब लापरवाही गर्न नमिल्ने भन्दै चासो काममा प्रभावकारीता ल्याउन निर्देशन दिएको बताए ।

एउटा पक्षले गरेको लापरवाहीले समग्र जिल्लाबासीले अनाहकमा दुख पाउनु भनेको सिंगो राज्य प्रशासनमाथि असर पर्ने हुँदा सबैलाई आआफ्नो काम र कर्तव्यमा जिम्मेवार बन्न निर्देशन दिएको जानकारी गराए । फोरलेन सडकको कामले गतिलिन नसक्दा आफुलाई सबैभन्दा बढी समय यो काम कसरी चाँडो गरेर जिल्लाबासीलाई सहज यात्रा गराउने भन्दै दिनरात यही काममा खटिएको अवगत गराए ।

Blog Post Ad

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुदप्रसाद रिजालले प्रहरी संगठनमा मानवअधिकारको संरक्षण र संवर्द्धनमा कटिवद्ध भई काम हुने बताए । कतिपय घटना र अपराधमा संलग्नलाई प्रहरीले तत्कालै पक्राउ गर्ने गरेको बताए ।

कतिपय घटनाका अपराधी लामो समयसम्म नियन्त्रणमा पर्न नसक्दा प्रहरीको भुमिकामा प्रश्न उठ्ने गरेपनि ढिलो चाँडो अनुसन्धान गरेर काम सफल बनाउने गरेको बताए । जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र मानवअधिकारको संवर्द्धनमा दाङ प्रहरी गम्भीर रहेको बताउँदै नागरिकका पक्षमा प्रहरी रहेको विश्वास दिलाए ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, मानव अधिकार सञ्जालका संयोजक केशवकुमार शर्मा, श्रीमन न्यौपानेलगायतले मानवअधिकार संरक्षण र संवर्द्धनका लागि आम नागरिकमा व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए । आफुले गरेको कुनै पनि कामले अरुलाई कस्तो असर गरेको छ भन्ने कुराको हेक्का नराख्दा समस्या निम्तने र कालान्तरमा यो जटिल विषय बन्दै जाने तर्क गरे ।

जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु नेपाल परिवार नियोजन संघकी अध्यक्ष निर्मला गौतम, सचिव माया पोख्रेल, अपांग मानवअधिकार एवं सरोकार मञ्चकी अध्यक्ष भविसरा घर्ती, इन्सेक प्रतिनिधि जेएन सागरलगायतले जिज्ञासा राखेका थिए । जिल्लामा देखा परेको विभिन्न खालमा समस्या र नागरिकको भोगाईले अरुलाई पनि असर गरेको बारे ध्यानाकर्षण गराएका थिए । बनेका पूर्वाधार पनि अपांगमैत्री नभएको, सार्वजनिक सेवा झन्झटिलो भएको, श्रमको मुल्य पाउन नसकेकोलगायत विषय उठान गरिएको थियो ।

कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र अन्तर्गत पारस्परिक जवाफदेहिता परियोजनाका संयोजक हीतबहादुर थापाले मानव अधिकार र यसका आयाम बारे प्रस्तुतिकरण गरेका थिए । मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिवद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष १० डिसेम्बरको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आईएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव दशरथ घिमिरेले गरेका थिए ।

Blog Post Ad Blog Post Ad