Ad Area

फोहोरमैलाबाट चक्रीय अर्थतन्त्र सम्बन्धी राष्ट्रिय संवाद सम्पन्न


काठमाडौँ, २२ अगस्ट २०२५ । स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) द्वारा आयोजित “फोहोरमैलाबाट चक्रीय अर्थतन्त्र” सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम नयाँबानेश्वर, काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा संघीय संसदका सांसद, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका प्रतिनिधि, शहरी विकास मन्त्रालय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, फोहोर संकलन कम्पनी, पत्रकार र सरोकारवालालगायत २० जना महिला सहित ५२ जनाको सहभागिता रहेको थियो।
स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रबिन्द्र लमिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममाको सञ्चालन प्रेम प्रकाश नेपालीले गर्नुभएको थियो। विशिष्ट आतिथLका रूपमा प्रतिनिधि सभाका माननीय सांसद मैना कार्की, निर्मला कोइराला, सरस्वती सुब्बा र माधव सापकोटाको उपस्थिति थियो। सोही अवसरमा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, राष्ट्रिय गाउँपालिका महासंघ नेपालका केन्द्रीय सदस्य पूर्ण प्रसाद धिताल, काठमाडौँ महानगरपालिकाकी सानु मैया महार्जन, ललितपुर महानगरपालिकाका प्रदीप अमात्य, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराई, नेपाल वातावरण पत्रकार समूह (NEFEJ) का अध्यक्ष सुनिल चित्रकारलगायत अन्य सरोकारवाला सहभागी भएका थिए।
कार्यक्रममा डा. ढुण्डीराज पाठकले “चक्रीय अर्थतन्त्र निर्माणमा फोहोरमैला व्यवस्थापनको भूमिका : विश्व अनुभव र स्थानीय चुनौती” विषयमा प्रस्तुति दिनुभएको थियो भने शहरी विकास मन्त्रालयका वरिष्ठ प्राविधिक इन्जिनियर महेश बहादुर सिंहले “फोहोरमैला व्यवस्थापनमा नेपाल सरकारको नीतिगत पहल, योजना, चुनौती र समाधान” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
संवादले विद्यमान नीतिगत तथा कानूनी प्रावधानको समीक्षा गर्दै फोहोरमैला व्यवस्थापनलाई परिपत्र अर्थतन्त्रसँग जोड्ने, संघीय संरचनाअनुकूल सुधारका सिफारिसहरू दिने तथा समुदायमा आधारित प्रभावकारी अभ्यास पहिचान गरेर बहु-सरोकावालासहकार्य र प्रतिबद्धता बढाउने उद्देश्य राखेको थियो।
कार्यक्रम पाँचवटा मुख्य निष्कर्ष र छवटा ठूला प्रतिबद्धतासहित सम्पन्न भएको छ। सहभागी सांसदहरूले यस्ता संवादलाई निरन्तरता दिनुपर्ने, संसदभित्र ठूला समूहगत छलफल गर्नुपर्ने र हाल तयार भइरहेको फोहोरमैला व्यवस्थापन बिधेयकमा गहन बहस आवश्यक रहेको सुझाव दिएका छन्।
संवादका मुख्य निष्कर्ष
बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास तथा पूर्वाधार, बढ्दो उपभोग संकृती र फोहरमैला विसर्जनमा जवाफदेहीपूर्ण व्यवहारको कमीले फोहरमैला एक गम्भिर स्वास्थ तथा वातावरणिय समस्या, प्रदुषण, कार्वन उत्सर्जन र विपतको कारक बनेको छ ।
फोहरमैला सम्बन्धी वर्तमान ऐन कानुनहरु संघीय संरचना अनुरुप बनाउन जरुरी छ ।

संविधानत: फोहरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई भएकोले स्थानीय तहको यस सम्बन्धी क्षमता विकास, प्राविधिक सहयोग र श्रोत बृद्धिमा संघीय सरकाले स्पष्ट नीतिगत व्यवस्था, प्रोत्साहनमुलक योजना तथा कार्यक्रमहरु तर्जुमा गर्न जरुरी छ।

फोहरमैला उत्सर्जन र व्यवस्थापनमा समुदाय, नागरिक संघसंस्था, नीजि क्षेत्रको महत्पूर्ण भूमिका रहने भएकोले नयाँ ऐन तथा नियमावलीबाट उनिहरुको भूमिका थप स्पष्ट गरि आवश्यक समन्वय, सहजीकरण र नियमनका लागि प्रभावकारी व्यवस्था गरिनुपर्दछ ।
फोहरमैलाबाट चक्रीय अर्थतन्त्र निर्माणको ठुलो संभावना भएकोले फोहरबाट मोहर बनाउन चक्रीय अर्थतन्त्रका अवयवहरुलाई समेट्दै सबै तहका सरकार, नीजि क्षेत्र, सार्वजनिक क्षेत्रले अवलम्बन गर्दै जाने गरि नेपाल सरकारले आवश्यक ऐन कानुनहरुको निर्माण र परिमार्जनको पहल गर्नुपर्दछ ।

फोहरमैलाबाट चक्रीय अर्थतन्त्रका लागि उत्पादक, वितरक, उपझोक्ता र नियामक निकायको समावेशी, पारदर्शि र जीम्मेवारपूर्ण भूमिका जरुरी भएकोले प्रभावकारी कार्यान्वयनका लागि सोही अनुसारको समन्वययात्मक कार्य जरुरी छ ।

नीजि क्षेत्रलाई समेत फोहरमैलाको व्यवसायिक दायित्व (Extended Producer Responsibility) भित्र राख्न आवश्यक नीतिगत व्यवस्था गर्न जरुरी छ ।
संवादको प्रतिवद्धताहरु
फोहरमैला व्यवस्थापन सम्बन्धी नयाँ ऐन र नियमावली मार्फत चक्रिय अर्थतन्त्रमा आधारित आर्थिक गतिविधिहरु सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने छौं । ऐन र नियमावलीमा आवश्यक संसोधन र परिमार्जन गरिने छ ।
फोहरमैला व्यवस्थापनबाट चक्रिय अर्थतन्त्रका लागि नीजि क्षेत्र, समुदाय र सामुदायिक संघ संस्थाहरुको भूमिकालाई सुनिश्चित र अझ स्पष्ट पारिने छ ।
बस्तु उत्पादक, वितरक र उपभोक्ताहरुलाई वातावरिणय स्वच्छता कायम राख्न फोहमैलाको न्यूनिकरण, पुनः प्रयोग, पुनः चक्रीय प्रयोग र पुुनः उत्पादन गर्न प्रोत्साहन गर्दै व्यवसायिक सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) प्रति जिम्मेवार बनाउन प्रतिवद्ध हुनेछौं ।
वातावरणिय स्वच्छता र चक्रीय अर्थतन्त्रका लागि जैविक रुपले सजिलै गल्ने वा पुनः चक्रीय प्रयोग गर्न मिल्ने प्याकिङ्ग सामाग्रीको उत्पादन, प्रयोग र बजारीकरणलाई प्रवर्धन गर्न थप व्यवस्था गर्ने छौं । फोहरमैला उत्पादक दायित्व (Extended Producer Responsibility)लाई सुदृढ नीतिगत व्यवस्था मार्फत प्रभावकारी कार्यान्वयनमा ल्याइने छ ।
स्थानीय तहको फोहरमैला व्यवस्थापन सम्बन्धी स्थानीय नीति निर्माण, सहजीकरण, नियमन गर्ने अधिकारको सुनिश्चित गर्न नीतिगत स्पटता, आवश्यक ज्ञान, प्रविधि, संरचनागत व्यवस्था र श्रोतसाधन मार्फत सुदृढ गर्न पहल गरिने छ ।
सरकार, नीजि क्षेत्र, संघ संस्था र सामुदायिक क्षेत्रले आफ्ना कार्यक्रम कार्यान्वयन गर्दा चक्रीय र हरित अर्थतन्त्रमा योगदान गर्ने कार्यहरुलाई आफ्ना कार्यक्रमको महत्वपूर्ण संभागको रुपमा कार्यान्वयन गर्ने छौं । संस्थागत रुपले आवश्यक नीति तर्जुमा गरि कार्यान्वयन गर्ने छौं ।
स्वच्छ सफा नेपालले आयोजना गरेको संवाद कार्यकममा आर्थिक सहयोग आईएम स्विडिश डेभलपमेन्ट पार्टनरको रहेको थियो ।