१५ सैयाको अस्पतालको ७० प्रतिशत काम

गढवा, १५ भदौ । देउखुरीको गढवा गाउँपालिका–५ गढवामा निर्माणाधीन १५ श्ययाको अस्पतालको ७० प्रतिशत निर्माण कार्य सकिएको छ । चालु आर्थिक वर्षभित्र भवनको निर्माण सकेर अस्पता सञ्चालनमा ल्याउने गरी निर्माणको काम भइरहेको छ ।
भ्याटसहित १३ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएर अस्पतालको भवन निर्माण भइरहेको गढवा गाउँपालिकाका इन्जिनियर शेषमणि पौडेलले जानकारी दिएका छन् । उनका अनुसार साढे दुईतले भवनको ढलान सकेर अहिले वाल निर्माण भइरहेको छ । अस्पालको भवन निर्माण अन्तर्गत तल्लो तलाको काम सकेर दोस्रो तलाको काम भइरहेको इन्जिनियर पौडेलले बताए ।
उनका अनुसार भवनको वाल निर्माणको काम सकिएपछि प्लास्टर, रङरोगन, वायरिङ हुनेछ । भवनको काममा केही पूर्वाधार र अन्तिम सजावटको काम बाँकी भएको उनले बताए । नेपाल सरकारको हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण गर्ने योजना अनुसार २०७९ सालमा श्याम सुन्दर–एनबी जेभी बुटवलसँग ठेक्का सम्झौता भएर अस्पतालको भवन निर्माण सुरु भएको थियो ।
२०८१ मसान्तभित्र निर्माण सक्नुपर्ने भए पनि नसकिएपछि एक वर्ष म्याद थप गरिएको छ । अस्पताल निर्माणको काम गत वर्ष सकिनु पर्ने भए पनि समयमा भुक्तानी नहुने समस्याले ढिलाइ भएको उनले बताए ।
अस्पताल निर्माण भएर सञ्चालन भएपछि देउखुरीको राप्ती नदी दक्षिण क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुने गढवा गाउँपालिका–५ गढवा निवासी बुद्धिराज आचार्य बताउँछन् । दक्षिण देउखुरी क्षेत्रमा अस्पताल नहुँदा गढवाबासीलाई उपचार सेवा लिन लमहीसँगै घोराही जानुपर्ने बाध्यता रहेको छ ।
अस्पताल सञ्चालनमा आए टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए । अस्पाल नहुँदा गढवा गाउँपालिकाले स्वास्थ्य केन्द्रमा दुई जना एमबिबिएस डाक्टरसहितको जनशक्ति व्यवस्थापन गरेर बिरामीलाई सेवा दिँदै आएको छ ।