कार्यालय व्यवस्थापनमै कर्मचारी, सेवा सञ्चालनमा समस्यैसमस्या

लीलाधर वली
दाङ, ३० भदौ । सेवाग्राहीको सधै भिडभाड हुने नापी कार्यालय घोराही आइतवार दिउँसो सुनसान थियो । कार्यालयको अगाडि धुवा पुत्ताइरहेको थियो भने कर्मचारी थकित झै परिसरमा बसेका थिए, सेवाग्राही भने थिएनन् ।
जनतालाई सेवा दिनका लागि हरेक दिन १० बजे कार्यालयमा उपस्थित हुने कर्मचारी आइतवार भने बिहानैदेखि जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको फोहर हटाउँदै सरसफाई गर्नमा जुटेका थिए । आगलागीका कारण भौतिक संरचनासँगै कार्यालयका महत्वपूर्ण कागजात जलेको भन्दै नापी कार्यालय घोराहीका प्रमुख पुरन चौधरीले जनतालाई सेवा दिनका लागि करिब १५÷१६ दिन समय लाग्न सक्ने बताउँछन् ।
‘जग्गाका श्रेस्ता, नाप, नक्सा, कित्तासँगै आगोले जल्दा कार्यालयमा विद्युत समेत छैन’, कार्यालय प्रमुख चौधरीले भने,‘नागरिकको काम गर्नका लागि आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर चोरी भएका छन्, कतिपय जलेर केही छैन् । जसले गर्दा तत्काल नागरिकलाई सेवा दिन सक्ने अवस्था छैन ।’ कार्यालय प्रमुख चौधरीका अनुसार आगलागीका कारण बस्ने कुर्सी र काम गर्ने कम्प्युटरलगायतका सामग्री छैनन् ।
नापी कार्यालय जस्तै घरेलु तथा साना उद्योग कार्यालय पनि सुनसान थियो । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण भएको फोहर सफा गर्नका लागि कार्यालयका कर्मचारीसँगै अन्य नागरिक जुटेका थिए । आगलागीका कारण उद्योगसँग सम्बन्धित सम्पूर्ण कागजात, तथ्याङ्कसँगै नौ वटा सवारीसाधन जलेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख नोखिराम वली बताउँछन् ।
‘प्रदर्शनकारीको तोडफोड र आगलागीका कारण उद्योगसँग सम्बन्धित महत्वपूर्ण कागजात जलेर खरानी भएका छन् । अहिले पनि कतिपय कोठामा भएको आगो निभाउँदै सफा गर्ने काम भइरहेको छ’, कार्यालय प्रमुख वलीले भने,‘कार्यालय सञ्चालन गर्नका लागि बस्ने कुर्सीसँगै चाहिने कम्प्युटर, टेबल र बत्तीसम्म छैन । यी सबैको व्यवस्था भयो भने मात्र कार्यालय सञ्चालन गर्न सक्ने अवस्था हुन्छ ।’ उनका अनुसार कार्यालय भवन, यातायात साधनमा तोडफोड र आगजनीसँगै कर्मचारीको आवासीय भवनबाट प्रर्दशनकारीले कम्प्युटर, गरगहना र नगद पैसा लगायतका सामग्री चोरेका छन् ।
यसैबिच आइतवार जिल्ला समन्वय समितिका कर्मचारीहरूले कार्यालय सफाई गरेका छन् । तर, सेवा सुचारु गर्न भने अझै केही समय लाग्ने कार्यालयले जनाएको छ ।
कम्प्युटर र प्रिन्टर चोरी
नापी कार्यालय दाङबाट कम्प्युटर र प्रिन्टर चोरी भएका छन् । कार्यालय प्रमुख पुरन चौधरीका अनुसार कार्यालयमा नागरिकको काम गर्नका लागि भएका ३७ वटा कम्प्युटर, करिब २५ वटा प्रिन्टर र तीनवटा ल्याप्टपमध्ये अधिकांश चोरी भएको बताए । कार्यालय सफा गर्ने क्रममा ७÷८ वटा मात्र जलेका कम्प्युटर भेटिएको भन्दै कार्यालय प्रमुख चौधरीले भने,‘जेन–जीको आन्दोलनका नाममा कार्यालयबाट अधिकांश कम्प्युटर र प्रिन्टर चोरी भएका छन् । सिसिटिभी फुटेजका आधारमा लग्ने मानिस पहिचान गर्ने काम तयारीमा छौँ ।’
सोमवारबाट सेवा सुरु गर्छौँ : नगर प्रमुख चौधरी
तोडफोड र आगजनीका कारण क्षति व्यहोरेको घोराहीज्ञ उपमहानगरपालिकाले सोमवारदेखि नागरिकलाई सेवा दिने भएको छ । तोडफोड, आगलागी र चोरीका कारण नागरिकलाई नियमित रूपमा सेवा दिन समय लाग्ने भए पनि कार्यालयमा उपलब्ध स्रोत साधनको उपयोग गर्दै अत्यावश्यक सेवा सोमवारदेखि सुरु गर्ने तयारीमा रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिएका छन् ।
अहिलेको अवस्थामा पूर्ण रूपमा नागरिकलाई सेवा दिन कठाई भएको भन्दै नगर प्रमुख चौधरीले भने,‘तोडफोड, आगलागी र चोरीका कारण महत्वपूर्ण कागजात, कम्प्युटरलगायतका सामग्री छैनन् । जसले गर्दा नियमित रूपमा पूर्ण रूपमा सेवा दिन कठिनाई छ तर पनि नागरिकलाई समस्यामा पार्नु हुँदैन भनेर सोमवारदेखि सेवा दिने तयारीमा छौँ ।’
उपमहानगरपालिकासँगै घोराहीका १९ वटै वडालाई नियमित रूपमा सेवा दिनका लागि सूचना प्रवाह गरिएको भन्दै कार्यालय व्यवस्थापनमा समस्या भए परिसरमा पाल टाँगेर भए पनि सेवा दिने तयारीमा रहेको बताए । यसैबिच आइतवार नै घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सूचना जारी गर्दै उपलब्ध स्रोत र साधनको उपयोग गर्दै अत्यवाश्यक सेवा सूचारु गर्न १ देखि १९ वटै वडा कार्यालयलाई अनुरोध गरेका थिए ।