Ad Area

लुम्बिनी एकेडेमी र मेचिकालीबिच सम्झौता


घोराही, २२ भदौ । घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमी (एलएफए) र मेचिकाली बोर्डिङ स्कुलबीच फुटबल प्रशिक्षणका लागि वार्षिक सम्झौता भएको छ ।

सम्झौता अनुसार मेचिकाली बोर्डिङ स्कुलका विद्यार्थीलाई प्रत्येक हप्ताको दुई दिन एकेडेमीको मैदानमा प्रोफेसनल प्रशिक्षकबाट प्रशिक्षण लिने व्यवस्था गरिएको छ । लुम्बिनी फुटबल एकेडेमीले प्रत्येक वर्ष दुई वटा लिग—‘एलएफए समर फुटबल लिग’ र ‘विन्टर लिग’—सञ्चालन गर्न थालेको छ ।

एकेडेमीले सञ्चालन गर्ने लिगमा प्रशिक्षण सम्झौता गरेका विद्यालयलाई मात्र सहभागी गराउनेछ । लिगको विजेता स्कुलले नगद ५० हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार प्राप्त गर्ने लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समीर वलीले जानकारी दिएका छन् । उनका अनुसार प्रारम्भिक चरणमा घोराही उपमहानगरपालिका क्षेत्रका बढीमा १० विद्यालयलाई प्रतियोगितामा समावेश गरिनेछ । उनका अनुसार अहिलेसम्म मेलिकाली स्कुलसँगै गुरुकुल एकेडेमीले सम्झौता गरेका छन् ।

वार्षिक रुपमा प्रशिक्षण गर्ने विद्यालयलाई विद्यार्थी संख्या अनुसार विभिन्न प्याकेजमा सिकाइने र प्रतियोगितामा च्याम्पियन हुने विद्यालयले आफ्नो वार्षिक प्रशिक्षण शुल्क समेत फिर्ता पाउने व्यवस्था गरिएको छ । सञ्चालक वलीले भने,‘नियमित प्रशिक्षणसँगै लिग सञ्चालन गर्दा खेलाडीलाई प्राविधिक कुराको ज्ञानसँगै खेल क्षमता विकासमा सहयोग पुग्ने र दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।’