Ad Area

मणिकलाल गौतमको प्रथम स्मृति दिवस मनाईयो


घोराही २४, मंसीर । दंगाली कम्युनिस्ट आन्दोलन तथा पार्टीका संस्थापक सदस्य मणिकलाल गौतमको प्रथम स्मृति दिवस मनाईएको छ । नेकपा एमाले दाङले घोराहीमा एक कार्यक्रम गरि गौतमले पार्टी र संगठनमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको अधुरा सपना पूरा गर्न सिंगो पार्टी र संगठनले तदारुकता दिनुपर्नेमा जोड दिईएको छ ।

पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वलीको प्रमुख आतिथ्यतामा आयोजित स्मृति दिवसमा सहभागी वक्ताहरुले स्वर्गीय गौतमले हिजोका दिनमा जिल्लामा पार्टी र संगठनमा खेलेको भुमिकाकै कारण दाङमा कम्युनिस्ट आन्दोलन सम्भव भएको बताए ।

सबै वर्ग र समुदायका बीचमा सम्बन्ध स्थापित गर्दै दूरदराजका नागरिकहरुको आवाज बनेर असमानता र विभेदका विरुद्ध सशक्त भुमिका खेलेकै कारण स्वर्गीय गौतम सबैका नेता बन्न सफल भएको भन्दै स्मरण गरिएको थियो । स्वर्गीय गौतमको ९३ वर्षको उमेरमा २०७७ मंसिर २४ गते निधन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वलीले वर्गीय द्वन्द्वमा रहेको नेपाली समाजमा कम्युनिस्ट आन्दोलनका माध्यमबाट राजनीतिक चेतनाको जग हाल्ने काममा मणिकलाल गौतमको सशक्त भुमिका सबैको प्रेरणाको श्रोत भएको बताए । तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनलाई सार्थक उचाईमा पुर्याउन मणिकलालले सबैलाई एकतावद्ध गर्दै सिंगो मोर्चाको अगुवाई गर्न सफल भएका कारण दाङमा कम्युनिस्ट आन्दोलनले सफलता पाउन सकेको उनको भनाई थियो । स्वर्गीय गौतमका अधुरा सपनालाई पूरा गर्न कम्युनिस्ट विचारधाराका शक्तिहरु गम्भीर बन्न जरुरी रहेको बताए ।

यसैगरी, नेकपा एमाले प्रदेश कमिटी सदस्य गिरीराज केसीले स्वर्गीय गौतम सबैका अभिभावक रहेको बताए । उनको अभिभावकत्कै कारण दाङमा अहिले हजारौँ कम्युनिस्ट जन्मन सफल भएको बताए । कार्यक्रममा स्वर्गीय गौतमका परिवारका तर्फबाट छोरा विकिरण गौतमले बोलेका थिए । उनकै पदचापमा हिडेकाहरुले बुवाको कामको मुल्यांकन गर्दै स्मरण गरेकोमा आभार प्रकट गरे ।

सो अवसरमा जिल्ला अध्यक्ष खड्काले स्वर्गीय गौतमले समाजवादका धेरै उदाहरणीय काम गरेको भन्दै उनले अघि सारेको आन्दोलनलाई निरन्तर लैजान पार्टी गम्भीर बन्नु पर्ने बताए । जिल्ला उपाध्यक्ष हुकुम बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए।

Blog Post Ad
Blog Post Ad Blog Post Ad