Ad Area

दाङमा ४७ भवन र एक सय ८९ सवारीमा क्षति


लीलाधर वली
दाङ, १ असोज । दाङमा जेन–जी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारीसाधनमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार जिल्लामा १५ वटा सरकारी कार्यालयका २६ वटा भवन पूर्ण रूपमा र नौ वटा कार्यालयका २१ वटा भवन आंशिक रूपमा क्षति भएका छन् ।

जस अन्तर्गत उच्च सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालय तुलसीपुरका तीन÷तीन वटा, जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भूमि तथा जलाधार कार्यालय र तुलसीपुर उपमहानगरपालिकाका दुई÷दुई वटा, भूमि सुधार तथा मालपोत कार्यालय घोराही, नापी कार्यालय, उच्च अदालत, लोक सेवा आयोगको कार्यालय, इलाका प्रशासन कार्यालय तुलसीपुर, जलस्रोत तथा सिँचाइ कार्यालय, आयल निगम कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय तुलसीपुर र घोराही उपमहानगरपालिकाको एक÷एक वटा भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिएका छन् ।

प्रशासकीय अधिकृत गौतमका अनुसार घोराही उपमहानगरपालिकाका छ वटा, डिभिजन सडक कार्यालयका पाँच वटा, घरेलु तथा साना उद्योग कार्यालयका तीन वटा, बबई गाउँपालिकाका दुई वटा, जिल्ला सरकारी वकिल कार्यालय, यान्त्रिक कार्यालय, सडक पूर्वाधार कार्यालय, जिल्ला अदाल र तुलसीपुर बसपार्क तथा टर्मिनल भवनका एक÷एक वटा भवनमा आंशिक क्षति भएको छ ।

यसैगरी आन्दोलनका क्रममा सरकारी कार्यालयमा राखिएका एक सय ८९ वटा सवारीसाधनमा तोडफोड र आगजनी भएको छ । जस अन्तर्गत ४० वटा चारपाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा जलेका छन् भने चारवटा आंशिक रूपमा क्षति भएको प्रशासकीय अधिकृत गौतमले बताए । उनका अनुसार दुईपाङ्ग्रे अन्तर्गत एक सय ३४ वटा, तीनपाङ्ग्रे एउटा र साइकल १० वटा पूर्ण रूपमा क्षति भएका छन् ।

प्रशासकीय अधिकृत गौतमका अनुसार क्षति भएकामा चारपाङ्ग्रे सरकारी गाडी ३३ वटा, निजी दुई वटा, टिप्पर तीन वटा, दमकल, स्काभेटर, ट्याक्टर, टेलर, लोडर, ट्याङ्कर एक÷एक वटा रहेका छन् । यसैगरी सरकारी मोटरसाइकल ८४ वटा, निजी मोटरसाइकल ४७ वटा, स्कुटर तीन वटा, अटो निजी एउटा र १० वटा साइकलमा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

प्रारम्भिक चरणमा सरकारी कार्यालयका भवन, कार्यालयमा राखिएका सरकारी तथा निजी सवारीसाधनमा भएको क्षतिको विवरण सङ्कलन गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले भने, ‘अहिलेसम्म सङ्ख्यात्मक रूपमा के कति क्षति भएको छ, त्यो विवरण सङ्कलन गरेका छौँ । त्यसपछि मात्र आर्थिक रूपमा भएको क्षतिको विवरण आउनेछ ।’ प्रशासकिय अधिकृत गौतमले निजी निवास, पार्टी कार्यालय, व्यावसायिक भवनसँगै संघसंस्थाका कार्यालयमा भएको क्षतिको विवरणसमेत सङ्कलन भइरेको बताएका छन् ।