दोस्रो अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार हुने

काठमाडौं, १ असोज । नेपाल क्वानकिडो संघको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार(२०८२ यही असोज २० र २१ गते काठमाडौंमा हुने भएको छ।
खेलकुद क्षेत्रको विकासका लागी हुन थालेको सेमिनारमा कोभो दाओ, क्वान्की बो, येन दाओ (स्वालो नाइभ्स), मोक कान, मा दाओ, लोंग जियान, सोङ कोट, ताम थिएत जियानजस्ता हतियारमार्फत आत्मरक्षा (सेल्फ डिफेन्स) र रेफ्रीसहितका विभिन्न विधामा प्रशिक्षण दिइनेछ। सेमिनारमा विभिन्न देशका गुरु अर्थात ग्रान्डमास्टरहरूले सहभागीहरुलाई प्रत्यक्ष प्रशिक्षण दिनेछन्।
संघका संस्थापक अध्यक्ष तथा एसियन प्राविधिक निर्देशक भुवन बुढा मगरका अनुसार सेमिनारका लागि इटालीबाट विश्व क्वानकिडो महासंघका अध्यक्ष गुरु रोबर्टो भिस्मारा, जर्मनीबाट गुरु जियाम सु मार्सेलो पेरिएरी, क्यानडाबाट वरिष्ठ गुरु ताओ सु एन्जेलो ताओरमिना, स्पेनबाट वरिष्ठ गुरु डा लुइजी सान्टापागा र फ्रान्सबाट वरिष्ठ गुरु ताओ सु बार्बारा रिभा काठमाडौं आउने भएका छन्।
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरका अनुभवी प्रशिक्षकहरूको सहभागिताले नेपाली खेलाडी तथा प्रशिक्षार्थीलाई विश्वस्तरीय अनुभव प्राप्त गर्न मद्दत पुग्नेछ। त्यसैगरी, संघका महासचिव टेकराज केसीले क्वानकिडो खेलले शारीरिक तन्दुरुस्ती, खेलकुदमा अन्तर्राष्ट्रिय आदान–प्रदान र नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।