प्रथम शक्तिमान स्मृति फुटबल प्रतियोगिता : सेमिफाइनल समिकरण पूरा

हिमाल महरा
दाङ,९ असोज । प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । विहीवार प्रतियोगिताका दुई क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनलमा बडहरा फुटबल क्लव, नवलपुर फुटबल एकेडेमी, गढवा फुटबल क्लव र टरिगाउँ युथ क्लव पुग्न सफल भएका हुन ।
प्रतियोगिताअन्तर्गत विहीवार भएको पहिलो क्वाटरफाइनल खेलमा बडहरा फुटबल क्लबले होटेल डोकोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भएको थियो । त्यसैगरी दोश्रो खेलमा लालमटिया एफसीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै नवलपुर फुटबल एकेडेमी प्रतियोगिताको सेमिफाइनल पुग्न सफल भएको हो ।
प्रतियोगिताअन्तर्गत बुधवार भएका क्वाटरफाइनल खेलमा गढवा फुटबल क्लब र टरिगाउँ युथ क्लबले सेमिफाइनल स्थान सुरक्षित गरिसकेका थिए । गढवाले घोराही फुटबल एकेडेमीलाई ४–३ र टरिगाउँले एनजेएफसीलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेका थिए ।
प्रतियोगिता संयोजक तथा क्लबका सहसचिव गोपाल कुँवरका अनुसार शुक्रबार दिउँसो १ बजे पहिलो सेमिफाइनल खेलमा गढवा फुटबल क्लब र बडहरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजेदेखि टरिगाउँ क्लब र नवलपुर फुटबल एकेडेमीका बिचमा हुनेछ ।
युनाइटेड नयाँ बजार क्लब घोराहीको आयोजनामा घोराही उपमहानगरपालिका–१७, उखुवारीस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा जारी प्रतियोगिता असोज ११ गतेसम्म सञ्चालन हुनेछ । असोज ४ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको क्लबका कोषाध्यक्ष मनकाजी पुन मगरले जानकारी दिएका छन ।