प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबलको फाइनलमा बडहरा र टरिगाउँ भिड्ने

हिमाल महरा
दाङ,१० असोज । प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि बडहरा युवा क्लब र टरिगाउँ युथ क्लब भिड्ने भएका छन् ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा बडहरा युवा क्लबले गढवा फुटबल क्लबलाई रोमाञ्चक खेलमा ४–३ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। त्यस्तै दोस्रो सेमिफाइनलमा टरिगाउँ युथ क्लबले नवलपुर फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको छ।
प्रतियोगिता संयोजक तथा क्लबका सहसचिव गोपाल कुँवरका अनुसार फाइनल खेल शनिबार दिउँसो २ बजे घोराही उपमहानगरपालिका–१७, उखुवारीस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदानमा हुनेछ।
युनाइटेड नयाँ बजार क्लब घोराहीको आयोजनामा असोज ४ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए। क्लबका कोषाध्यक्ष मनकाजी पुन मगरका अनुसार महिलातर्फ बडहरा क्लबले किड्स एकेडेमीलाई ४–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। यसअघि नै घोराही–१७ महिला टोली फाइनलमा प्रवेश गरिसकेको छ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७० हजार रुपैयाँ पाउने छन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।