सहायक प्रहरी हवल्दार अधिकारीसम्मानित

दाङ, २३ असोज । दाङ जिल्ला अदालतले सहायक प्रहरी हवल्दार संगीता अधिकारीलाई नगदसहित सम्मान गरेको छ ।
जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङको भवनसँगै महत्वपूर्ण कागजातमा हुने क्षति न्यूनीकरणका लागि भूमिका खेल्ने सहायक प्रहरी हवल्दार अधिकारीलाई नगद पाँच हजार रुपियाँसहित सम्मान गरेको हो । बिहीवार जिल्ला अदालतमा आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायधिश प्रकाशप्रसाद पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठलगायतले टिका, मालासँगै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै दाङ जिल्ला अदालतका मुख्य न्यायाधिश प्रकाशप्रसाद पण्डितले जेनजी आन्दोलनका क्रममा आगजनी गर्न आएका युवाहरुलाई सम्झाइबुझाई गरेर सहायक प्रहरी हवलदार अधिकारीले अदालतमा हुन सक्ने ठुलो क्षतिलाई न्यूनीकरण गर्न सफल भएको बताउनुभयो । तोडफोड र आगजनीका लागि आएको भीडलाई एक्लो प्रयासले रोक्न सक्ने अवस्था नहरेपनि भीडलाई नियन्त्रणका लागि खेलेको भूमिका प्रशंसा योग्य रहेको बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अप्रत्याशित रुपमा भएको जेनजी आन्दोलनका क्रममा जिल्ला अदालतको भवन बचाउनका लागि खेलको भूमिका प्रशंसा योग्य भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठले अदालतको सुरक्षामा खटिनुभएकी महिला प्रहरी संगीता अधिकारीले आन्दोलनकारीको भिडलाई सम्झाउनका लागि देखाउनुभएको साहसले सवै सुरक्षाकर्मीको मनोवललाई उच्च बनाउने काम गरेको बताउनुभयो । आन्दोलनका क्रममा अदालतको भवन तथा कागजातलाई जोगाउन नसकेपनि कम क्षति गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको थियो ।
सम्मान कार्यक्रममा जिल्ला अदालतका न्यायाधिस टेकेन्द्र दाहाल, नेपाल बार एशोससियन दाङका अध्यक्ष गोमा महरा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, सम्मानित सहायक प्रहरी हवलदार संगीता अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला अदालत दाङका सूचना अधिकारी गोकर्ण वलीले गरेका थिए । कार्यक्रममा अदालतका इन्चार्ज दिपक चन्दलाई समेत सम्मान गरिएको थियो ।
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते घोराहीमा रहेको दाङ जिल्ला अदालतमा तोडफोडसँगै तीन वटा कोठामा आगजनी भएको थियो । तोडफोड र आगजनी भएको जिल्ला अदालतले अझै पूर्ण रुपमा सेवा प्रवाह गर्न सकेको छैन । सम्मान कार्यक्रममा अदालतका न्यायाधिश, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।