Ad Area

केरा बिक्री नहुँदा समस्यामा किसान


दाङ, २५ असोज । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले विगत एक दशकदेखि केरा खेती गर्दै आएका छन् । सिसहनियामा ५३ बिघा जग्गामा मालभोग केरा खेती गरेका सुवेदीले दसैं पर्वका अवसरमा ४० देखि ४५ लाख रुपैयाँ सम्मको केरा बिक्री गर्ने तयारी गरेका थिए तर दसैँमा पनि केरा बिक्री नभएपछि समस्यामा परेका छन् । तयार भएको केरा बिक्री नहुँदा चार लाख बराबरको केरा बारीमै खेर गएको सुवेदी बताउँछन् । होलसेल व्यवसायीले भारतबाट केरा भित्राउँदा आफ्नो उत्पादन बिक्री हुन नसकेको सुवेदीले बताए ।

बजारमा दर्जनलाई सय रुपैयाँ बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले २५ रुपैयाँ दर्जनमा दिँदासमेत नलगेको भन्दै किसान सुवेदीले बताए । ‘यो साल केरा बिक्री नहुँदा नराम्ररी घाटा लाग्यो । केरा बिक्री नहुँदा बोटमै पाकेर खेर जाने अवस्था छ’, उनले भने । होलसेल व्यवसायीले सस्तोमा भारतबाट केरा भित्राउँदा स्थानीय उत्पादनले बजार नपाएको उनले बताए । उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने गरेको उनी बताउँछन् ।

सुवेदी जस्तै सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताउँछिन् । दुई बिघा जग्गामा गरेको केरा खेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनले बताइन् । केरा बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीले बताइन् । उनले भनिन्, ‘व्यापारीले दर्जनको २० रुपैयाँ मूल्य दिने गरेका छन् ।

त्यसरी दिँदा त लगानी नै उठ्दैन, कसरी बिक्री गर्नु ?’, खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मसुरो खेती छोडेर केरा खेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको उनले बताइन् । केरा बिक्री नभएको र पानीसँगै फलेको बोट ढल्दा थप क्षति भएको उनको भनाइ छ ।

यी दुई केरा खेती गर्ते किसान प्रतिनिधिमूलक पात्र मात्र भए पनि भारतीय केरासँग प्रतिस्पर्धा गर्नुपर्दा धेरै किसान मर्कामा परेको राप्ती केरा उत्पादक किसान संघका अध्यक्षसमेत रहेका सुवेदी बताउँछन् । उनका अनुसार देउखुरी क्षेत्रमा मात्रै ३३ जना बढी किसान व्यावसायिक केरा खेती गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा करिब एक हजार बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती हुने गरेको छ । जसमध्ये देउखुरी क्षेत्रमै छ सय बढी बिघा जग्गामा केरा खेती हुने गरेको छ । दाङमा केरा खेतीका लागि उपयुक्त जमिन, हावापानी र वातावरण भए पनि भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा स्थानीय किसान समस्यामा पर्ने गरेको सूचना अधिकारी लामिछाने बताउँछन् ।