Ad Area

चिउरीको बिजुला पेलेर तेलको जोहो गर्दै स्थानीय


लीलाधर वली
दाङ, ३० असोज । घोराही उपमहानगरपालिका–१८ घोरदौरा निवासी मतिकला महरालाई चिउरीको बिजुला (फलको दाना) पेलेर तेल निकाल्न भ्याइनभ्याइ छ । तिहारमा रोटी पकाउनका लागि आवश्यक पर्ने चिउरीको तेल निकाल्नका लागि ढिकीमा बिजुला कुटेर काठको परम्परागत कोलमा पेल्ने काम गरिरहनुभएको छ ।

तिहार पर्व नजिकिएसँगै रोटी बनाउनका लागि आवश्यक तेलका लागि जङ्गलबाट ल्याएको चिउरीको बिजुला पेल्न थालेको बताइन् । उनका अनुसार घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा सङ्कलन गरेको चिउरीको बिजुलाबाट उत्पादन हुने तेलले घरमा खाना बनाउँदा साँझबिहान चाहिने तेलको अभाव टार्नेसँगै बढी भएको बिक्री गर्दा आम्दानी हुने गर्दछ ।

गाउँमा तोरी उत्पादन नहुने भएकाले समेत चिउरीको फलबाट तेल उत्पादन गर्ने काम स्थानीयले गर्ने गरेको भन्दै महराले भनिन्, ‘गाउँमा तोरी उत्पादन हुँदैन । सवैले प्रत्येक वर्ष चिउरीको बिजुला टिप्ने र पेलेर तेल जम्मा गर्ने गर्दछौँ ।’ उनका अनुसार जङ्गलमा खेर जाने चिउरीको फललाई परम्परागत रूपमा गाउँमै कोलमा पेलेर तेल उत्पादन गर्दै आएको बताउँछिन ।

मतिकला जस्तै घोरदौरा निवासी मुकला गिरीले यो वर्ष २५ धार्नी चिउरीको तेल बनाउन सफल भएको बताइन । राम्रो फल सङ्कलनसँगै तेल पर्दा गत वर्षको तुलनामा बढी तेल सङ्कलन भएको बताइन । यही सङ्कलन भएको तेलबाट वर्षभरि घरका लागि आवश्यक पर्ने तेल राखेर बढी भएको बिक्री गर्ने काम भइरहेको उनको भनाइ छ ।


जङ्गलमा राम्रो चिउरी उत्पादन हुने भएकाले आफुलाई घरखर्च टार्नेदेखि आम्दानी गर्न सजिलो भएको भन्दै गिरीले भनिन्, ‘घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ । त्यही उत्पादन भएको फललाई पेलेर स्थानीयले तेलको जोहो गर्ने गरेका छन् ।’

चिउरीकै तेल रोटी बनाउनका लागि राम्रो हुने र लामो समयसम्म बनाएको रोटी राख्न नबिर्गिनेसँगै स्वास्थ्यका लागि समेत फाइदाजनक भएकाले उत्पादन भएको तेल बिक्रीमा समेत समस्या नहुने बताइन् । उनका अनुसार जन्डिसका बिरामीका लागि चिउरीको तेल फाइदाजनक भएकाले धेरै मानिस किन्न आउने गर्दछन् ।

चिउरीको दाना सङ्कलन एक्लै गर्न सकिने भए पनि तेल निकाल्न गाह्रो हुने भएकाले गाउँघरमा सामुहिक रुपमा चिउरी कुट्ने, पकाउने र पेल्ने काम गर्ने गरेको बताइन । घोरदौराकै धरम पुनका अनुसार स्थानीयले चिउरीको तेल आठ सय रुपैयाँ धार्नी र बिजुला दुई सय रुपैयाँ किलो बिक्री गर्ने गरेको बताए ।

चिउरीको तेल उत्पादन गर्न सके घरमा खानेसँगै बढी भएको बिक्री गरेर आम्दानी गर्न सकिने भन्दै पुनले भने, ‘चिउरी स्थानीयका लागि बरदान बनेको छ । तोरी नहुँदा किन्नुपर्ने तेलको जोहोसँगै घरखर्चका लागि आम्दानीको माध्यम बनेको छ ।’ जङ्गलमा निःशुल्क रूपमा टिप्न पाइने फलको दाना टिपेर घोरदौरा लगायतका छिमेकी गाउँका स्थानीयले सिजनमा १०÷१५ हजारदेखि ठुलो परिवार र मिहिनेत गर्नेले ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको पुन बताउँछन् ।

असारमा पाक्ने चिउरीको फल स्थानीयले साउनमा टिप्नेर भदौको अन्तिमदेखि असोजको महिनाभरि तेल पेल्ने गर्दछन् । उनका अनुसार चिउरीको तेल पेल्नका लागि आधुनिक मेसिन नहुँदा बढी मिहिनेतसँगै बढी समय लाग्ने गरेको छ ।