Ad Area

बबई नदी पुल निर्माण : सकिने बेला ३० प्रतिशत मात्र काम


लीलाधर वली
दाङ, १० कात्तिक । निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेट अभावका कारण पुल निर्माणको काम सकिने बेला ३० प्रतिशत मात्र भएको छ । नेत्रलाल मार्ग अन्तर्गत घोराही उपमहानगरपालिका–५ खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदीमा पुल निर्माणमा ढिलाइ भएको हो ।

ठेक्का सम्झौता अनुसार पुल निर्माणको म्याद सकिन दश दिन मात्र बाँकी रहँदा पुलको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत मात्र भएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ । पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर रामकिसुन चौधरीका अनुसार २०८२ साल कात्तिक २० गतेसम्म पुल निर्माणको सक्ने गरी २०७९ मङ्सिर २१ गते १७ करोड एक लाख एक हजार रुपैयाँमा शान्ति निर्माण सेवा अनामनगर काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता अनुसार पुल निर्माणको काम अन्तिम चरणमा हुनुपर्ने भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेट अभावका कारण पुल निर्माणमा ढिलाई भएको इन्जिनियर चौधरी बताउँछन् । ठेक्का सम्झौता अनुसार म्याद सकिने अवस्थामा पुगे पनि पुलको भौतिक प्रगति ३० प्रतिशत मात्र छ । वर्षाद्को कारण गत असार महिनादेखि रोकिएको पुल निर्माणको काम अब सुरु गर्ने तयारीमा निर्माण व्यवसायी रहेको कार्यालयले जनाएको छ ।

एक सय २० मिटर लामो पुलका लागि करिब तीन वटा पिलरको फाउन्डेसन निर्माणको काम भइसकेको र यो वर्ष चार करोड रुपैयाँ विपनियोजन भएकाले पुल निर्माणको कामले गति लिने इन्जिनियर चौधरीले बताए । उनले भने, ‘सम्झौता अनुसार पुल निर्माणको काम सकिनुपर्ने भए पनि निर्माण व्यवसायीको ढिलासुस्ती र बजेट समयमा नआउँदा ढिलाइ हुन गएको छ । अब म्याद थप गर्दा समयमै काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाउँछौँ ।’

पुल निर्माणका लागि यो वर्ष चार करोड रुपैयाँ रहेको र थप चार करोड रुपैयाँ माग गरिएको समेत उनले बताए । उनका अनुसार पुलको बाँकी काम गर्न म्याद थप गर्नुपर्ने अवस्था देखिएको छ । समयमा पुल निर्माण नहुँदा स्थानीयलाई वर्षाद्को समयमा आउजाउ गर्न समस्या हुने गरेको छ । समयमा पुल निर्माण भएपछि सहज हुने अपेक्षा गरिएको छ ।