हुलाकी सडक छ वर्षदेखि अलपत्र, ठेक्का रद्द गर्ने तयारी
लीलाधर वली
दाङ, १९ कात्तिक । छ वर्षदेखि अलपत्र रहेको हुलाकी सडकको ठेक्का सम्झौता रद्द गर्ने तयारी भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण सडक निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको हुलाकी सडक आयोजना नेपालगन्जले जनाएको छ ।
गढवा–कालाकाँटे हुलाकी सडक अन्तर्गत गढवादेखि वनघुस्रीसम्मको करिब २० किलोमिटर सडक २०७६ कात्तिक २९ गते बज्रगुरु काञ्छाराम जेभी काठमाडौंसँग ६५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण सडक निर्माणको काममा ढिलाइ भएको आयोजनाले जनाएको छ ।
हालसम्म नौ किलोमिटर सडकमा एक तह कालोपत्रे गरिएको छ भने बाँकी खण्डमा ग्राभेल मात्र गरिएको छ । सम्झौताको अवधिमा काम हुन नसकेपछि पहिलो पटक २०७९ साल मङ्सिर मसान्ततिर म्याद थप गरी २०८० साउन १० सम्मलाई समय दिइएको थियो । त्यसपछि पटक पटक म्याद थप गरिए पनि निर्माण व्यवसायीले काम गर्न नसकेको हुलाकी सडक कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिएका छन् ।
आयोजना प्रमुख भण्डारीका अनुसार गत वर्ष ठेक्का तोड्ने गरी प्रक्रिया अघि बढाए पनि निर्माण कम्पनीलाई कानुनी प्रक्रिया अनुसार दुई सय दिनको अतिरिक्त समय दिइएको थियो । दिइएको समयको पनि एक सय २० दिन सकिएर अब ८० दिन मात्र बाँकी रहँदासम्म आधा काम पनि हुन नसकेको आयोजना प्रमुख भण्डारी बताउँछन् । आयोजना प्रमुख भण्डारीले भने, ‘निर्माण कम्पनीलाई पछिल्लो पटक दिएको दुई सय दिनमध्ये अब ८० दिन मात्र बाँकी छ तर निर्माण कम्पनीले हाल काम गरेको अवस्था छैन । यो हिसाबले काम सकिने सम्भावना पनि देखिँदैन ।’
निर्माण कम्पनीलाई आयोजनाले काम गर्नका लागि कानुनी प्रक्रिया अनुसार अन्तिम समय दिएको र उक्त समयमा पनि काम नहुने अवस्था भएकाले अब ठेक्का रद्द गर्ने वा पूर्वनिर्धारित क्षतिपूर्ति दिलाएर काम गराउने विषयमा अन्तिम निर्णयका लागि निर्माण कम्पनीका प्रतिनिधिसँग सम्पर्क गरिरहेको बताए । उनका अनुसार दसैँको आसपासमा निर्माण कम्पनीले केही काम गरेको जस्तो गरे पनि अहिले सम्पर्कमा छैन ।
ठेक्का सम्झौता भएको तर लामो समयदेखि काम सम्पन्न हुन नसकेर अलपत्र परेका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अनुसार दाङको हुलाकी सडकलाई पनि राखिएको भन्दै आयोजना प्रमुख भणडरीले भने, ‘यदि निर्माण कम्पनी सम्पर्कमा आयो र पूर्वनिर्धारित क्षतिपूर्ति तिरेर काम गर्न तयार भयो भने ठेक्का रद्द गर्दैनौँ, अन्यथा रद्द हुन्छ ।’
पूर्वनिर्धारित क्षतिपूर्ति तिरेर निर्माण कम्पनीले काम गर्न तयार भएमा ठेक्का सम्झौता भएको ६५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् छ करोड ५० लाख रुपैयाँ तिर्नुपर्ने आयोजना प्रमुख भण्डारीले बताए । आयोजनाका अनुसार उक्त सडकको हाल भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत मात्र रहेको छ । आयोजनाका अनुसार निर्माण कम्पनीले काम गरेको करिब दुई करोड जति रकम पाउन बाँकी रहेको छ ।
आयोजना प्रमुख भण्डारीका अनुसार हुलाकी सडक अन्तर्गत राजपुर गाउँपालिकाको गंगदीदेखि सिक्टासम्मको करिब २५ किलोमिटर सडक निर्माणको कामलाई अघि बढाउन बजेटको स्रोत सुनिश्चिताका लागि पहल भइरहेको जानकारी दिएका छन् ।
