Ad Area

घोराहीमा प्रथम इन्टर स्कुल डिआइजिपी फुटबल प्रतियोगिता बुधवारदेखि हुने


दाङ, १८ कात्तिक । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआईजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ बुधवारदेखि सुरु हुने भएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई शिक्षासँगै खेलकुदका गतिविधिमा अघि बढाउने र उनीहरूमा भएको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले नेपाल पुलिस स्कुल घोराहीको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगिता कात्तिक १९ गतेदेखि सञ्चालन हुने नेपाल पुलिस स्कुल घोराहीका प्रिन्सिपल नुमलाल पाण्डेले जानकारी दिएका छन् । स्कुलले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित नेपाल प्रहरी स्कुलको आफ्नै खेल मैदानमा प्रतियोगिताका खेलहरू हुने बताएका हुन । आयोजक सस्था नेपाल प्रहरी स्कुलका अनुसार प्रतियोगिताका खेलहरु नकआउट सिस्टमका आधारमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको विजेता स्कुलले नगद ८० हजार रुपियाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता हुने स्कुलले नगद ४० हजारसहित मेडल र ट्रफि प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई समेत नगद ६ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत विधागत रूपमा पुरस्कृत गरिने प्रिन्सिपल पाण्डेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा जिल्लाका २१ वटा सामुदायिक तथा निजी विद्यालयबाट फुटबल टिमको सहभागीता हुनेछन् ।

प्रत्येक वर्ष सञ्चालन हुने प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि अतिथिहरूलाई निमन्त्रणा, खेल मैदानको स्तरोन्नतिसँगै प्रचारप्रसारलगायतका कार्यलाई तीव्रता दिइएको प्रिन्सिपल पाण्डेले जानकारी दिएका छन् । प्रतियोगिता बुधवार विहान ११ बजेदेखि सुरु हुने भएको छ ।