दोश्रो गोरखा कप फुटबल प्रतियोगिता हुँदै
दाङ,२० कात्तिक । दोस्रो गोरखा कप छात्रर छात्रा फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।
गोरखा ग्रुप प्रालिको आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको ब्यबस्थापनमा संचालन हुने प्रतियोगिता यहि कात्तिकको २२ गतेदेखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन बिहान साढे दश बजे गरिने कार्यक्रम रहेको छ ।
‘सबल शरिर,अनुशासन र सशक्त बिचार, खेलकुद गोरखा ग्रुपको पहिचान र आधार’ भन्ने मुल नाराका साथ गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको बिजेताले गोरखा कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता बिद्यालयलाई कप,मेडल प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता ब्यबस्थापनको जिम्मेवारी पाएको गोरखा सेकेन्डरी स्कुलका प्रिन्सिपल बिजयमान जिएमले जानकरी दिएका छन् ।
दुई दिनसम्म संचालन हुने प्रतियोगितामा गोरखा ग्रुपका गोरखा सेकेन्डरी स्कुल तुलसीपुर, गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही, गोरखा मोडल स्कुल लमही र गोरखा आईडल स्कुल लालमटियाका छात्रतर्फ ४ र छात्रातर्फ चार टिमको सहभागीता रहनेछ । यसैबिच प्रतियोगितालाई भब्य एवं सभ्य बनाउन यतिबेला ब्यबस्थापनको जिम्मा पाएको गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले आफ्नो तयारी तिव्र पारेको बताएको छ।
तयारी स्वरुप खेलमैदान मर्मत,प्रचारप्रसार, सहभागी हुने बिद्यालयलाई दर्ता आह्वान, आतिथ्य सत्कारलगाएतका पक्षमा तिव्रता दिइएको प्रिन्सिपल जिएमले जानकारी दिएका छन् ।
