दाङका सिमेन्ट उद्योग : बुझाए पहिलो किस्ता विद्युत शुल्क, जोडियो लाईन
अमरराज आचार्य
दाङ, २७ कात्तिक । विद्युत कटौती भएका दाङका दुई सिमेन्ट उद्योगले दुई करोड ६७ लाख ९१ हजार नौ सय ७६ रुपैयाँ रकम तिरेका छन् । उनीहरूले पहिलो किस्ता वाफत उक्त रकम तिरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासमा रहेको सोनापुर मिनरल एण्ड आयल प्रालि र घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगले विद्युत महसुलको पहिलो किस्ता तिरेका हुन् । यो सँगै दुवै उद्योगमा काटिएको विद्युत जडान भएको छ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाईनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता सोनापुर मिनरल एण्ड आयल प्रालिले मङ्गलवार र घोराही सिमेन्टले बुधवार तिरेपछि विद्युत जडान गरिएको नेपाल विद्युत प्रधिकरण घोराही शाखा इन्जिनियर नन्दलाल शर्माले जानकारी दिए ।
उनका अनुसार सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाईन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बाफत छ लाख ३० हजार रुपैयाँ बुझाएको हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको थियो । बक्यौतालार्ई २ किस्तामा विभाजन गरेर सोनापुर मिनरले पहिलो किस्ता ८६ लाख ३० हजार रुपैयाँ बुझाएको हो ।
त्यसैगरी घोराही सिमेन्ट उद्योगले बुधवार पहिलो किस्ता बाफत एक करोड ८१ लाख ६१ हजार नौ सय ७६ रुपैयाँ ४ पैसा विद्युत महसुल तिरेको छ । घोराही सिमेन्ट उद्योगको बक्यौता ५० करोड ८५ लाख ३५ हजार तीन सय ४२ रुपैयाँ रहेको थियो । लामो समयसम्म विद्युत महसुस नतिरेपछि नेपाल विद्युत प्राधिकरणले कात्तिक ७ गते सोनापुर मिनरल एण्ड आयल प्रालि र कात्तिकको ४ गते घोराही सिमेन्ट उद्योगको विद्युत लाईन काटिदिएको थियो ।
उद्योग बन्द भएपछि मजदुर समेत अन्यौलमा परेका थिए । विद्युत प्राधिकरण र उद्योगी–व्यवसायीबिच डेडिकेटेड र ट्रङ्क लाईन महसुल विवाद हुँदै आएको छ । यसअघि पनि सरकारको निर्देशनमा प्राधिकरणले लाईन काटेको थियो । उद्योगले रकम नतिरेपछि सरकार आफैले विद्युत जडान गरेको थियो । प्राधिकरणले बिना प्रमाण उद्योगलार्ई ट्रङ्क लाईन महसुल तिराउन खोजेको उल्लेख गर्दै उनले टीओडी मिटर बिना छुट महसुल भन्दै विलिङ गर्नु सरासर गलत र गैरकानुनी रहेको उद्योगीहरू दाबी गर्दै आएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रङ्क लाईनको महसुल बक्यौता विवादको मध्यमार्गी समाधानमा लागि प्रहल गरेको थियो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार पहिलो किस्ता बराबरको धरौटी बुझाउने, उद्योगमा लाईन जोड्ने र न्यायिक प्रक्रियामा जाने गरी तीनवटा सहमति भएको छ ।
महसुल बक्यौता तिर्नको लागि उद्योगलार्ई नेपाल विद्युत प्राधिकरणले तोकेको २८ किस्तामध्ये पहिलो किस्ता बराबर हुने रकमलार्ई विवादित महसुलको धरौटीको रूपमा बुझाउने सहमति भएको थियो । त्यस्तै, दोस्रो सहमति अन्तर्गत पहिलो किस्ता बराबरको रकम धरौटीको रूपमा बुझाएपछि प्राधिकरणले उद्योगको लाईन तत्काल जोड्ने र १५ दिनदेखि बन्द भएका उद्योगलार्ई सञ्चालनमा ल्याउने रहेको छ । यसैगरी तेस्रोमा उद्योगीहरू न्यायिक प्रक्रियामा जान पाउने सहमति भएको अध्यक्ष ढकालले जानकारी दिए ।
त्यसैअनुसार उद्योगहरूले विद्युतको रकम तिरेका हुन् । घोराही सिमेन्ट उद्योगले दैनिक तीन हजार ट्रङ्क टन क्लिङ्कर र आवश्यकता अनुसार सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जन सम्पर्क अधिकारी अमर सुवेदीले बताए । ‘अहिले जेनेटरको प्रयोग गरेर सिमेन्ट उत्पादन भइरहेको त थियो, अब विद्युत जडानपछि झनै सहज उत्पादन हुनेछ’ सुवेदीले भने, ‘क्लिङ्कर उत्पादन सुरु गर्न भने अझै एक हप्ता जति लाग्ने छ ।’
उद्योगको उत्पादन क्षमता दैनिक ८५ हजार बोरा सिमेन्ट रहे पनि बजारको मागअनुसार उत्पादन गरिरहेको पनि सुवेदीले जानकारी दिए । उद्योग बन्द भएपछि उद्योगमा प्रत्यक्ष पाँच सय कर्मचारीलार्ई अर्को सूचना नभएसम्म काममा नआउन भनिएको थियो । उद्योग सञ्चालनमा आएपछि उनीहरूलाई काममा बोलाइने उद्योगले जनाएको छ ।
