Ad Area

इन्टर स्कुल डिआइजिपी कप फुटबल, सेमिफाइनल पुग्ने चार टिमको टुंगो


दाङ,२६ कात्तिक । लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआइजिपी फुटबल रनिङ शिल्ड प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । प्रतियोगिताअन्तर्गत बुधवार दुई क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल ‘रेड’, पव्लिक ज्ञानज्योति सेकेन्डरी स्कुल, सप्तरंगी (सक्सेस) एकेडेमी र बालविकास सेकेन्डरी स्कुल नयाँ बजार सेमिफाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताअन्तर्गत बुधवार भएको पहिलो खेलमा नेपाल पुलिस स्कुल ‘रेड’ समूह गोरखा इन्टरनेशनल पव्लिक सेकेन्डरी स्कुल घोराहीलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । उक्त खेलमा उत्कृष्ठ प्रदर्शन गरेका पुलिसका जीवन बुढाथोकी म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसैगरीे दोश्रो खेलमा पव्लिक ज्ञानज्योति सेकेन्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलमा मावि रामपुर स्कुललाई १ का विरुद्ध ३ गोल गर्दै पव्लिक ज्ञानज्योतिले सेमिफाइनल यात्रा तय गरेको हो । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने ज्ञानज्योतिका खेलाडी संगम थापा म्यान अफ द म्याच बनेका थिए । प्रतियोगितामा बालविकास सेकेन्डरी स्कुल र सक्सेल एकेडेमी यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए ।

घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत नेपाल पुलिस स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा बिजेता टिमले नगद ८० हजार र उपबिजेता टिमले नगद ४० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कात्तिक १९ गतेदेखि जारी प्रतियोगितामा जिल्लाका २३ विद्यालयका २४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल पहिलो खेल विहीवार दिउँसो १ बजे नेपाल पुलिस स्कुल ‘रेड’ र बालविकास सेकेन्डरी स्कुलका विचमा हुने छ भने दोश्रो खेल दिउँसो ३ बजे पव्लिक ज्ञानज्योति सेकेन्डरी स्कुल र सप्तरंगी (सक्सेस) एकेडेमीका विचमा हुने आयोजक नेपाल पुलिस स्कुलले जानकारी दिएको छ ।