दाङमा मतदाता नामावली दर्ताका लागि भिड
दाङ, २८ कात्तिक । आगामी निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चितता गर्न मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड दाङमा बढ्दै गएको छ । निर्वाचन आयोगले तोकेको समयसीमा सकिन चार दिन मात्र बाँकी रहँदा मतदाता नामावलीमा नाम दर्ता गराउन प्रदेश निर्वाचन कार्यालय घोराहीमा नयाँ मतदाताको भिड बढेको हो ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन अभियान अन्तर्गत हालसम्म दाङमा तीन हजार छ सय बढी नयाँ मतदाता थपिएका छन् । उनका अनुसार बुधवार मात्र दाङमा छ सय २७ जनाको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो ।
पछिल्लो समय मतदाता नामावली दर्ताका लागि प्रचारप्रसारसँगै राजनीतिक सक्रियता हुँदा मतदाता नामावलीमा नाम दर्ताका लागि सङ्ख्या थपिने क्रम बढेको छ । कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता एवम् अद्यावधिक कार्य चल्नेछ ।
