इन्टर स्कुल डिआईजिपी कप फुटबल : उपाधिका लागि नेपाल पुलिस र पब्लिक ज्ञानज्योति भिड्ने
घोराही, २७ कात्तिक । लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआइजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधिका लागि नेपाल पुलिस स्कुल घोराही (रेड) र पब्लिक ज्ञानज्योति स्कुल तुलसीपुरका बिचमा प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल पुलिस स्कुल घोराहीको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनल खेलमा पुलिस स्कुल (रेड) ले बाल विकास माध्यमिक विद्यालय घोराही र पव्लिक ज्ञानज्योती स्कुलले सप्तरंगी (सक्सेस) एकेडेमीलाई हराउँदै फाइनलमा भेट पक्का गरेका हुन । विहीवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिस स्कुल (रेड) ले बाल विकास माध्यमिक विद्यालय घोराहीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । उक्त प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने नेपाल पुलिस स्कुलका खेलाडी अविनाश भट्ट म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यसैगरी दोस्रो खेलमा सप्तरङ्गी (सक्सेस एकेडेमी)लाई पब्लिक ज्ञानज्योति स्कुलले ५–० गोल अन्तरले हराउँदै नेपाल पुलिस स्कुलसँग फाइनलमा भेट पक्का गरेको छ । उक्त खेलमा ज्ञानज्योतिलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी युवराज जिएम म्यान अफ द म्याच घोषित भएका थिए ‘।
बिजेता हुने स्कुलले नगद ८० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद ४० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी विधागत रुपमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । फाइनल खेल कात्तिक २९ गते विहान ११ बजेदेखि घोराही उपहानगरपालिका १७ स्थीत नेपाल पुलिस स्कुलको खेल मैदानमा हुने भएको छ ।
