खाद्यद्वारा गढवामा दुई हजार क्वीन्टल धान खरिद,आजदेखि लमहीमा खरिद गर्ने
सुमित्रा पुन
दाङ, ३० कात्तिक । गढवा गाउँपालिकामा रहेका किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले दुई हजार क्वीन्टल धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कात्तिकको २४ गतेदेखि २८ गतेसम्म ८० जना किसानको ६९ लाख २७ हजार छ सय २० रूपैयाँ मूल्यको दुई हजार क्वीन्टल धान खरिद गरेको सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिएका छन् ।
जिल्ला प्राथमिक खरिद समिति दाङले तोकेअनुसार गढवा गाउँपालिकामा किसानसँग धान खरिद गरिएको बताए । गढवा गाउँपालिकामा धान खरिद सकिएपछि आइतवार आजदेखि लमही नगरपालिकामा किसानसँग धान खरिद गर्न थालिएको उनले बताए । ‘केन्द्रले दाङमा धान खरिद गर्नका लागि तोकेको पाँच हजार क्वीन्टल कोटामध्ये जिल्लाका तीन स्थानीय तहसँग खरिद गर्ने सम्झौता छ’,सूचना अधिकारी डाँगीले भने,‘सोही अनुसार गढवा गाउँपालिकाबाट दुई हजार क्वीन्टल धान खरिद गर्ने काम सकेका छौँ, अब लमही नगरपालिकामा सुरु गर्दैछौँ ।’
सूचना अधिकारी डाँगीका अनुसार लमही नगरपालिका एक हजार पाँच सय क्वीन्टन धान किसानसँग खरिद गर्ने कार्यक्रम रहेको छ । सूचना अधिकारी डाँगीकाअनुसार लमहीमा खाद्यले प्रति किसान १५ क्वीन्टलका दरल लमहीमा धान खरिद गर्नेछ । सूचना अधिकारी डाँगीले भने,‘लमहीमा प्रति किसान बढीमा १५ क्वीन्टलसम्म धान खरिद गर्ने सम्झौता भएको छ । खाद्यले गढवामा प्रति किसान अधिकतम ४० क्वीन्टलसम्म धान खरिद गरेको थियो ।
लमही नगरपालिकापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राप्ती गाउँपालिकाबाट पनि एक हजार पाँच सय क्वीन्टल धान खरिद गर्ने कार्यक्रम रहेको छ । लमहीमा धान खरिद गर्ने काम सकिएपछि अन्तिमा राप्ती गाउँपालिकामा धान खरिद गरिने उनले बताए । खाद्यले सरकारले तोकेको प्रति क्वीन्टल तीन हजार चार सय ६३ रूपैयाँ ८१ पैसाका दरले किसानसँग धान खरिद गरिरहेको छ । सरकारले तोकेको मूल्यमा खाद्यले धान खरिद गर्दा देउखुरी क्षेत्रका किसान खुसी भएका छन् ।
धान खरिदका लागि खाद्यले किसानलार्ई नेपाली नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी, बैंक खाता प्रमाणित हुने चेकको प्रतिलिपी र पालिकामा रहेको कृषि शाखाको सिफारिसपत्रका आधारमा धान खरिद गर्ने गरेको छ । जिल्लामा गतवर्ष आठ हजार क्वीन्टल धान खरिद गर्ने परिचयपत्र भएकोमा एक हजार छ सय क्वीन्टल मात्र धान खरिद गरेको थियो । जिल्लाका तीन स्थानीय तहमा खाद्यले धान खरिद गरे पनि अन्य स्थानीय तहमा धान खरिद नगर्दा किसानले कम मूल्य मै व्यापारीलाई धानम बिक्री गर्नुपरेको गुनासो गर्दै आएका छन् ।
