Ad Area

इन्टर स्कुल डिआइजिपी कप फुटबलको उपाधि नेपाल पुलिस स्कुललाई


दाङ, २० कात्तिक । दाङको घोराहीमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआइजिपी कप फुटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुलले जितेको छ।

प्रतियोगिताको फाइनल खेलमा पब्लिक ज्ञानज्योति स्कुल तुलसीपुरलाई १–६ गोलले पराजित गर्दै नेपाल पुलिस स्कुल घोराही ‘रेडुले’ उपाधि हात पारेको हो । नेपाल पुलिस स्कुलको जितका लागि खेलाडी देवबहादुर वलीले पाँच र जीवन बुढाथोकीले एक गोल गरेका थिए । खेलको पहिलो हाफमा गोल गरेर अग्रता बनाएको पब्लिक ज्ञानज्योतीले त्यसलाई जोगाउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु पर्‍यो ।

खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपाल पुलिस स्कुलको टोली हावी हुँदै पाँच गोल थप्दै उपाधि जित्न सफल भएको थियो। उपाधिसँगै नेपाल पुलिस स्कुलले नगद ८० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता पब्लिक ज्ञानज्योति स्कुल तुलसीपुरले नगद ४० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ। विद्यागत रुपमा उत्कृष्ट हुनेमा नेपाल पुलिक स्कुलकै बर्चश्व रहेको छ । जसअन्तर्गत प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस स्कुलका जीवन बुढाथोकी, उत्कृष्ट गोलकर्ता पुलिस स्कुलकै देवबहादुर वली, उत्कृष्ट डिफेन्डर पुलिस स्कुलका हेमराज विक, उत्कृष्ट गोलरक्षक पुलिस स्कुलका नवराज बस्नेत, उत्कृष्ट मिडफिल्डर पुलिस स्कुलका पल्लव भण्डारी, उदीयमान खेलाडी ज्ञानज्योतिका सरगम थापा र अनुशासित टोलीका रूपमा सप्तरङ्गी (सक्सेस एकेडेमी) पुरस्क भएका हुन ।

नेपाल पुलिस स्कुल घोराहीको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेता खेलाडीलाई विद्यालयका संरक्षक समेत रहेका लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले पुरस्कार वितरण गरेका थिए। कात्तिक २३ गतेदेखि घोराही उपमहानगरपालिका–१७ स्थित नेपाल पुलिस स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा जिल्लाभरका २३ विद्यालयका २४ टोलीको सहभागिता थियो।

नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको प्रतियोगिताको समापन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौर, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीलाई पुलिस स्कुलका प्राचार्य नुमलाल पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए।