Ad Area

आत्मनिर्भर लघुबित्त चौथो पटक सम्मानित


पार्वती बस्नेत

दाङ,१ मंसिर । आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड लगातार चौथो पटक सम्मानित भएको छ। राष्ट्रिय कर दिवस–२०८२ अवसरमा आज आन्तरिक राजस्व कार्यालय तुलसीपुरले विशेष समारोहकाबीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सोगतबीर चौधरीलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेको हो।

आर्थिक वर्षमा जिल्लाबाट सर्वाधिक ३ करोड ७६ लाख ६५ हजार ८ सय १८ रुपैयाँ ५६ पैसा आयकर दाखिला गरेको संस्थालाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ। कार्यक्रम आन्तरिक राजस्व कार्यालयका प्रमुख श्रीधर टण्डनको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

सम्मान ग्रहण गर्दै सिईओ चौधरीले मातृसंस्था ‘ग्रामीण महिला उत्थान केन्द्र’ स्थापना ९वि।सं। २०५१० देखि महिला सामाजिक, सांस्कृतिक र आर्थिक सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। ‘‘महिला आर्थिक रूपमा सक्षम नभएसम्म सशक्तिकरण सम्भव हुँदैन,’’ भन्दै उनले २०६० सालमा १७ सय रुपैयाँ पूँजीबाट सुरु भएको अभियान आज आत्मनिर्भर लघुबित्त बन्न पुगेको बताए। लुम्बिनी प्रदेशमा ‘घ’ वर्गको बैंकका रूपमा स्थापनाको गर्व व्यक्त गर्दै उनले अहिले ५५–६० हजार महिलासँग हातेमालो गर्दै संस्था अघि बढिरहेको जानकारी दिए।

संस्थाले दाङ, बाँके र बर्दिया जिल्लामा २२ शाखारउपशाखा मार्फत बिना धितो समूह जमानी तथा धितोका आधारमा कर्जा प्रवाह गर्दै उद्यमशीलता विस्तारमा योगदान दिँदै आएको छ। त्यस्तै सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्वास्थ्य, शिक्षा, विपन्न तथा सिमान्तकृत समुदायमा सहयोग, कर्जा बीमा, सुत्केरी सुविधा, ग्राहक संरक्षण कोषमार्फत तालिम, आपतकालीन राहत लगायतका सेवा प्रदान गर्दै आएको चौधरीले बताए।

उनका अनुसार संस्थामा आवद्ध महिलाहरू स्वरोजगारमा उन्मुख भई आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन सक्षम बन्दै गएका छन्। उत्पादन गरिएका सामग्रीको बजार व्यवस्थापनमा समेत संस्थाले सहयोग गर्दै आएको उनले जानकारी दिए। ‘‘यो सम्मानले हामीलाई अझ पारदर्शी र सदस्य–केन्द्रित सेवा विस्तारमा प्रेरित गरेको छ,’’ चौधरीले भने। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, इलाका प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासंघ दाङ, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो।