लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता दाङ टिम च्याम्पियन
दाङ, १ मंसिर । लुम्बिनी प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा दाङ जिल्लास्तरीय टिम च्याम्पियन बनेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा तुलसीपुरमा भएको लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८२ मा दाङ जिल्लास्तरीय टिम च्याम्पियन बनेको हो ।
कात्तिक २९ र ३० गते भएको प्रतियोगितामा दाङले चार स्वर्ण र आठ कांस्य पदक जितेको छ । प्रतियोगितामा दाङकी अञ्जना विष्ट (महिला ५७ केजी), अदिती सुनार (महिला ६२ केजी माथि), किशोर रोका मगर (पुरुष ५८ केजी मुनि) र गणेश विक (पुरुष ६३ केजी मुनि)ले स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अञ्जना विष्टले नवलपरासीकी खेलाडीलाई, अदिती सुनारले बाँकेकी खेलाडीलाई, किशोर रोकामगरले कपिलवस्तुका खेलाडीलाई र गणेश विकले नवलपरासीका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।
त्यस्तै कांस्य पदक जित्नेमा किरण घले गुरुङ (महिला ४६ केजी मुनि), बर्षा घर्तीमगर (महिला ५३ केजी), शारदा केसी (महिला ६२ केजी मुनि), कमल परियार (पुरुष ५४ केजी मुनि), कृष्णबहादुर पुनमगर (पुरुष ७४ केजी माथि) र पारष चौधरी (पुरुष ६८ केजी मुनि) रहेका छन् । पुम्सेतर्फ पुरुषमा बिमल योगी र महिलातर्फ सिमा कवँरले कांस्य पदक जितेका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा रुपन्देही तीन स्वर्ण र तीन रजतसहित दोस्रो तथा गुल्मी जिल्लाको टिम तीन स्वर्णसहित तेस्रो भएको थियो ।

प्रतियोगिता प्रदेशका १२ वटै जिल्लाबाट १४÷१४ जना खेलाडीसहित टिम कोचको सहभागिता रहेको थियो । प्रदेशका १२ जिल्लाका खेलाडीहरु सहभागी भएको प्रतियोगितामा दाङ जिल्लाका खेलाडीले उत्कृष्ठ प्रदर्शन गर्दै टिम च्याम्प्यिनको उपाधि जितेको खुसीयाली व्यक्त यो जित खेलाडीको मेहनत र लगनशिलताले सम्भव भएको दाङ जिल्ला टिम कोच सुनिता विष्टले बताइन ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका बिजेता खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितालाई सञ्चालन गर्नका लागि १६ जना रेफ्रिसहित अफिसियल टिम खटिएको थियो ।
