Ad Area

परम्परागत सीप संरक्षणमा चुनौती, प्रशिक्षक पाउनै समस्या


लीलाधर वली
दाङ, ७ मंसिर । गन्धर्व समुदायको परम्परागत सीप संरक्षणसँगै नयाँ पुस्तालाई सारंगी बजाउन सिकाएर आयआर्जनसँग जोड्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय दाङले प्रशिक्षकका लागि सार्वजनिक सूचना निकाल्यो । २०८२ कार्तिक ११ गते निकालेको सूचनामा कार्यविधि अनुसार योग्यता पुगेका प्रशिक्षक र सहायक प्रशिक्षकलाई सात दिनभित्र सूचीकृत हुन भनिएको थियो ।

तर करिब एक महिना समय बित्न लाग्दा समेत कार्यालयले सारंगी बजाउन सिकाउने कार्यविधि अनुसार योग्य प्रशिक्षक पाउन सकेको छैन । सारंगी बजाउन सिकाउने मात्र होइन, चालु आर्थिक वर्षमै सुनचाँदीका गरगहना बनाउने तालिम सिकाउनका लागि समेत योग्य प्रशिक्षक कार्यालयले पाउन नसकेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपल पौडेल बताउँछन् । सुनचाँदीका गरगरहना बनाउने दक्ष कालीगढ उत्पादन गर्दै रोजगारीमा जोड्ने उद्देश्यले जिल्लामा पहिलो पटक सञ्चालन गर्न थालिको तालिम प्रशिक्षककै अभावमा सञ्चालन नहुने हो कि भन्ने चिन्ता थपिन थालेको सूचना अधिकारी पौडेलले बताए ।

उनका अनुसार सारंगी बजाउने, सुनका गरगहना बनाउनेसँगै बाँस फर्निचर मेकर र ढकिया बनाउने तालिमका लागि प्रशिक्षक पाउन समस्या भएको बताए । ‘अन्य तालिम सञ्चालनका लागि प्रशिक्षक पाउन समस्या छैन, जति भन्यो पाइन्छ’,सूचना अधिकारी पौडेलले भने,‘तर परम्परागत सिप संरक्षणका लागि कार्यविधिले भनेको अनुसार प्रशिक्षक पाउनै समस्या हुन्छ । जस्ले गर्दा तालिम सञ्चालन गर्न अप्ठेरो छ ।’ सरकारी सञ्चालन गर्ने तालिम कार्यविधि अनुसार सञ्चालन गर्नुपर्ने तर त्यस अनुसारको प्रशिक्षक नहुँदा प्रत्येक बर्ष परम्परागत सिपमुलक तालिम सञ्चालन गर्न समस्या पर्ने गरेको बताए ।

कार्यालय सूचना अधिकारप पौडेलका अनुसार कार्यालयले सीप परिक्षणअन्तर्गत ३९० घण्टे मन्टेस्वरी तालिम, मोबाइल रिपेयरिङ, प्लम्बिङ, बाँस फर्निचर मेकर, गलैँचा बनाउने, ढकिया बनाउने, सुन–चाँदीका गरगहना, लोपोन्मुख बाध्यबादन तथा पञ्चे बाजा बजाउने, सारङ्गी बजाउने तीन महिने तालिम, ४५ दिने व्युटीपार्लर, होजियारी, कटाइ–सिलाइ तथा दुना–टपरी तालिम सञ्चालन गर्ने तयारीमा रहेको छ ।
मोबाइल रिपेयरिङ, प्लम्बिङ, व्युटीपार्लर, कटाइ–सिलाइलगायतका तालिम सञ्चालनका लागि प्रशिक्षक पाउन समस्या नभएपनि परम्परागत सिपसँग जोडिएका सारङ्गी बजाउने, बाँसबाट फर्निचर जन्य सामग्री बनाउने, सुन–चाँदीका गरगहना बनाउने जस्ता परम्परागत तथा विशिष्ट सीपका लागि चाहिने प्रशिक्षक कार्यविधि अनुसार पाउन समस्या रहेको बताए ।

कार्यविधि अनुसार तालिम सञ्चालनका लागि शैक्षिक योग्यतासँगै तालिम तथा अनुभव प्रमाणपत्र र प्रशिक्षक प्रशिक्षण प्रमाणपत्र अनिवार्य गरेको छ । त्यसका लागि प्रशिक्षक सूचीकृत गर्न मान्यता प्राप्त शिक्षण संस्था÷विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक तह उपाधि प्राप्त गरी प्रशिक्षक प्रशिक्षणको तालिम लिएको वा सम्बन्धित विषयमा प्रमाणपत्र डिप्लोमा तह उत्तीर्ण गरी प्रशिक्षक प्रशिक्षण तालिम लिएको र कम्तीमा तीन वर्षको कार्य अनुभव भएको वा सम्बन्धित विषयमा सीप तह–२ उत्तीर्ण गरी तीन वर्षको कार्य अनुभव भएको हुनुपर्ने कार्यविधिमा व्यवस्था छ गरिएको छ ।