Ad Area

लुम्बिनी लायन्सको विजयी सुरुवात


काठमाडौं,४ मंसिर । लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर ४६ रन बनाउँदै पूरा गरेको हो ।

लुम्बिनीका लागि गुल्बादिन नइबले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । उनले २३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन योगदान गरे । ४४ बल खेलेका पौडेलले १ चौकाको सहरामा ३९ रन जोड्न सफल भएका थिए । ओपनिङमा आएका सन्दीप जोराले १८ बल खेल्दै ४ छक्का मद्दतमा २८ रन जोडे ।

अष्ट्रेलियन खेलाडी डार्शी सट ११ रन बनाएर आउट भए । बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए । त्यसअघि रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्स विरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडेका थिए । सैफ जैबले १५, देव खनालले १५ र दिपक बोहरा १० रन बनाएर आउट भए । बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट र गुल्बादिन नइबले ४ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा भने लुम्बिनीसँग पराजित भयो ।