Ad Area

लमहीमा तयार हुँदै सभाहल


 

लीलाधर वली
दाङ, १० मङ्सिर । देउखुरीको लमहीमा निर्माण हुन थालेको सभाहल अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन थालेको सुविधासम्पन्न सभाहल निर्माणको अन्तिम चरणमा पुगेको हो ।

करिब चार सय ५० बढी मानिस अट्ने सुविधा सम्पन्न सभाहल तीन वर्ष अघि निर्माण सुरु भएको थियो । अहिले सभाहलको स्ट्रक्चर निर्माणसँगै प्लास्टर गर्ने र ट्रस्ट राख्ने काम सकेर अहिले सभाहलमा सिट राख्ने, रँगरोगन, वायरिङ, एसी जडान, साउन्ड सिस्टम जडानलगायतका काम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना दाङका सूचना अधिकारी मिलन अर्यालले जानकारी दिएका छन् ।

सभाहल निर्माणको काममा ढिलाई भए पनि आगामी चैत मसान्तसम्म सभाहलको निर्माण सक्ने गरी काम भइरहेको सूचना अधिकारी अर्यालले बताए । सभाहलसँगै लमहीकै जखेरा ताल सुधार, रिहारमा पूर्वाधार निर्माण, सडक र नाला निर्माणको काम २०८१ चैत मसान्तसम्म सक्ने गरी २०७९ फागुन ११ मा शिवशक्ति कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग भ्याटसहित ३३ करोड २१ लाख ५३ हजार आठ सय एक रुपैयाँ ९९ पैसामा ठेक्का सम्झौता भएको थियो । जस अन्तर्गत करिब नौ करोडको लागतमा सभाहल निर्माणको काम भइरहेको छ ।

सम्झौता अनुसार समयमा काम हुन नसकेपछि २०८२ चैतसम्मको लागि म्याद थपिएको र थपिएको समयमा सक्ने गरी काम भइरहेको छ । अहिलेको अवस्थामा सभाहलको भौतिक प्रगति करिब ७३÷७४ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत रहेको भन्दै सूचना अधिकारी अर्यालले भने, ‘सभाहल निर्माणको मुख्य काम सकिएको छ । अहिले फिनिसिङको काम भइरहेको छ ।’

उनका अनुसार अब सभाहलमा रँगरोगन, वायरिङ, साउन्ड सिस्टम, बाहिरी भ¥याङ, टायल, मार्बल र परिसरमा ब्लक बिछ्याउन बाँकी रहेको छ । सभाहलमा ठुलो कार्यक्रम हलसँगै बैठक हल, स्टोर रुम, शौचालयलगायतका कोठा रहने भएका छन् । कार्यक्रम अन्तर्गत लमहीमा सुविधा सम्पन्न सभाहल निर्माणसँगै पर्यटकीय केन्द्रका रूपमा रहेका रिहार र जखेरा तालममा पूर्वाधार र पोखरी संरक्षणसँगै आकर्षक बनाउन विभिन्न पूर्वाधार निर्माण गरिएको सूचना अधिकारी अर्यालले बताए ।

सभाहल निर्माण भएपछि देउखुरी क्षेत्रमा ठुला कार्यक्रम गर्न सहज हुने अपेक्षा गरिएको छ । ससाना कार्यक्रम होटेलमा गर्न सकिने भए पनि ठुला कार्यक्रम गर्न अहिले पनि खुल्ला ठाउँ खोजेर टेन्ट गाड्नुपर्ने अवस्था रहेको उनले बताए ।