बसन्त ओलीको ‘बानी परेछ तिम्रो…’ गीत सार्वजनिक
दाङ, १५ मङ्सिर । गीतकार तथा साहित्यकार बसन्त ओली ‘बसन्ती’को ‘बानी परेछ तिम्रो…’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ। घोराही–१० नारायणपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
बसन्त ओली ‘बसन्ती’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा मोडलिङ बसन्त ओली स्वयं र बसन्ती ओलीले गरेका छन्। उनीहरूको अभिनयले गीतलाई आकर्षक दृश्यात्मकता प्रदान गरेको छ।
गीतमा विशाखा शाही ठकुरी, सुभाष तिमसिना र बसन्त ओली ‘बसन्ती’को स्वर रहेको छ। शब्द बसन्त ओलीकै रहेको गीतमा लेखराज गिरीसहित ओलीकै संगीत रहेको छ। झग्गु भण्डारीले निर्देशन गरेको भिडियोमा बसन्त ओली ‘बसन्ती’ र बसन्ती ओलीको मुख्य अभिनय रहेको छ।

म्युजिक भिडियाेकाे सहनिर्मातामा खुमबहादुर ओली र दीपा ओली रहेका छन् भने रेकर्डिङ पवन रानाभाटले गरेका हुन्। गीतको छायांकन तथा सम्पादन दोर्ण बस्नेतले गरेका छन्।ग्रामीण भेगमै बसेर सिर्जनात्मक श्रम र प्रतिभालाई उजागर गर्ने उद्देश्यले तयार गरिएको यो म्युजिक भिडियोले दाङको गीत–सङ्गीत क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा राखिएको छ।
कार्यक्रममा बोल्दै अग्रज कलाकार नारायण नेपालले बसन्त ओली ‘बसन्ती’को सिर्जनात्मक क्षमताको उच्च प्रशंसा गरे। “गाउँघरमै बसेर पनि यति उत्कृष्ट कलाकृति सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बसन्तीले देखाएका छन्,” उनले भने। अनेकौँ शब्द तथा गजलहरूलाई सुन्दर ढंगले संगीतबद्ध गर्दै मनछुने कला प्रस्तुत गरेको उल्लेख गरे।
त्यसैगरी, नारायणपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल बस्नेतले गीत तथा भिडियोको गुणस्तर प्रशंसनीय रहेको बताए। “गीतमा हुनुपर्ने सम्पूर्ण गुण सुरक्षित छन्, भिडियो पनि उत्कृष्ट छ। यस्ता सिर्जनाहरू ग्रामीण क्षेत्रकै शान हुन्,” उनले भने। अध्यक्ष बस्नेतले स्थानीय कलाकार तथा सिर्जनाकारलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने वचन दिए।
सार्वजनिक कार्यक्रममा स्थानीय कलाकार, समाजसेवी, सञ्चारकर्मी र ठूलो संख्यामा उपस्थित दर्शकहरूले गीतको प्रशंसा गर्दै सर्जक टोलीलाई निरन्तर सिर्जनात्मक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।
