सुनिल पुन स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू–स्टार विजयी
दाङ, १९ मङ्सिर । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा स्वर्गीय सुनिल पुन मगर स्मृति दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ ।
न्यू–स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सांस्कृतिक क्लबको व्यवस्थापनमा शुक्रवारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणराज गौतमले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव गौतमले खेलकुद क्षेत्रको विकासका लागि नियमित खेल, प्रशिक्षणसँगै पूर्वाधार विकास आवश्यक रहेको बताए ।
सामान्य पूर्वाधारमा पनि खेलाडीले खेल खेलेर आफ्नो पहिचानसँगै राष्ट्रको नाम अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सफल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि गौतमले तीनै तहका सरकारले खेल पूर्वाधारको विकाससँगै खेलाडीलाई नियमित प्रशिक्षण र खेल्ने वातावरण बनाउन ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले प्रत्येक वर्ष नारायणपुर हुने खेलुकद प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादनसँगै खेलकुदका गतिविधि बढाउन सहयोग गर्ने बताएका थिए । प्रतियोगिता संयोजक खुमबहादुर पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा घोराही नगरस्तरीय खेलकुद समितिका संयोजक नरेन्द्र पुन, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेतलगायतले प्रतियोगिताको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण न्यू–स्टार फुटबल एकेडेमीका अध्यक्ष खुमबहादुर वलीले गरेका थिए ।
न्यू–स्टारको विजयी सुरुवात
यसैबिच स्वर्गीय सुनिल पुन मगर स्मृति दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगितामा आयोजक न्यू–स्टार फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा न्यू–स्टार फुटबल एकेडेमीले घोराही–१६ को डाँफे युवा क्लबलाई सडेन डेगमा पराजित गर्दै प्रतियोगितामा विजयी भएको हो ।
निर्धारित समयको खेलमा दुवै टिमबाट १÷१ गोल भएपछि सडेन डेगमामा न्यू–स्टार फुटबल एकेडेमीले ७–६ को जित निकाल्न सफल भएको हो । प्रतियोगितामा १२ फुटबल टिमको सहभागीता रहेको छ । प्रतियोगितामा विजता हुने टिमले नगद एक लाख एक हजार एक सय ११ रुपयौँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार एक सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
