जेसीज मिनी म्याराथन : उपाधि सिनियर पुरुषतर्फ बुढा र महिलातर्फ पाण्डेलाई
लीलाधर वली
दाङ, २१ मङ्सिर । घोराहीमा भएको जेसीज मिनी म्याराथनको उपाधि त्रिभुन आर्मी क्लबका अर्जुन बुढा र सिर्जना पाण्डेले जितेका छन् । त्रिभुवननगर जेसीजको आयोजनामा शनिवार घोराहीमा भएको ‘जेसीज मिनी म्याराथन–२०२५’ को सिनियर पुरुषतर्फको उपाधि त्रिुभवन आर्मी क्लबका बुढा र महिलातर्फ त्रिभुवन आर्मीकै पाण्डेले हात पारेका हुन् ।
प्रथम भएका बुढाले ११ किलोमिटरको दुरी ३६ मिनेट ५८ सेकेन्ड र पाण्डेले ४४ मिनेट २४ सेकेन्डमा पार गरेका थिए । प्रथम स्थान प्राप्त गर्न सफल बुढा र पाण्डेले नगद २५÷२५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सिनियर पुरुषतर्फ नेपाल पुलिस क्लबका नागेश्वर अहिरले ३७ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए भने सिनियर पुरुषतर्फ मिग्मासिंह तामाङ तेस्रो, अजय पाण्डे चौथो, बबिन योगी पाँचौँ र दशरथ बुढा मगरले छैठौँ स्थान प्राप्त गर्न सफल भए । सिनियर महिलातर्फ सुमित्रा चौधरी दोस्रो र निरमाया चौधरी तेस्रो, कल्पना रावल चौथो, झरना बुढा मगर पाँचौँ र थमी घर्ती मगर छैठौँ भए ।
सुमित्राले ४६ मिनेट २७ सेकेन्ड, निरमायाले ५३ मिनेट २५ सेकेन्ड, कल्पनाले ५६ मिनेट ३५ सेकेन्ड, झरनाले ५९ मिनेट नौ सेकेन्ड र थमीले एक घण्टा ५६ मिनेटमा दुरी पार गरेकी थिइन् । प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्नेले नगद १५ हजार, तेस्रो स्थान प्राप्त गर्नेले १० हजार र सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई तीन÷तीन हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।
जुनियर जेसीज मिनी म्याराथन प्रतियोगितामा पुरुषतर्फ सुवास रावत विजयी भएका छन् । तीन किलोमिटर पुरुषतर्फ रावत पहिलो हुँदा उत्सव थापा दोस्रो, अर्जुन गौतम तेस्रो, रसिक श्रेष्ठ चौथो, वासुदेव केसी पाँचौँ र दीपेश बस्नेत छैठौँ भएका थिए । महिलातर्फ तीन किलोमिटरमा जिया भण्डारी पहिलो भइन् । रेखा सेजुवाल दोस्रो तथा तुलसा थापा तेस्रो, इच्छा जिएम चौथो, आयुसा चौधरी पाँचौँ र तुल्सा श्रेष्ठ छैठौँ स्थानमा लिन सफल भएकी हुन् ।
जुनियरतर्फ प्रथम हुनेले सात हजार, दोस्रो हुने पाँच हजार, तेस्रो हुने तीन हजार र सान्त्वना हुने तीन जनाले एक÷एक हजार रुपैयाँसहित पुरस्कृत भएका थिए । त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष टङ्क रावतको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश खेलुकद परिषद्का सदस्य सचिव तीरणदाज गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा तीन सय महिला पुरुषको सहभागिता रहेको थियो ।
