Ad Area

स्व.सुनिल पुन स्मृति फुटबल : फाइनलमा न्यू स्टार र युएनबिसी भिड्ने


दाङ, २३ मंसिर । स्व. सुनिल पुन मगर स्मृति दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक न्यू स्टार फुटबल एकेडेमी र युएनबिसी क्लव भिड्ने भएका छन् ।

मंगलवार भएको सेमिफाइनल खेलमा आयोजक न्यू स्टार फुटबल एकेडेमीले सल्यान टेक फुटबल क्लव र युएनबिसीले मगर एकता समाज चारबगियालाई हराउँदै प्रतियोगिताको फाइनलमा भेट पक्का गरेका हुन । घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित बिपी बाटिका खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा एक विरुद्ध ६ गोल गर्दै न्यू स्टार फुटबल एकेडेमी फाइनल प्रवेश गरेको हो । न्यू स्टारलाई जिताउनका लागि खेलाडी एलिस रसाइली र विशाल वलीले समान ३÷३ गोल गरेका थिए ।

खेलमा उत्कृष्ठ प्रदर्शन गरेका न्यू स्टारका एलिस रसाइली म्यान अफ द म्याच घोषित भएका थिए । त्यसैगरी दौश्रो सेमिफाइनल खेलमा युएनबिसी घोराहीले मगर एकता समाज चारबगियालाई सून्यका विरुद्ध पाँच गोल गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । उक्त खेलमा युएनबिसीलाई जिताउनका लागि दुई गोल गर्ने खेलाडी कमल विक म्यान अफ द म्याच घोषित बनेका थिए ।

प्रतियोगिताको फाइनल खेल बुधवार दिउँसो १ बजे हुने भएको आयोजक न्यू स्टार फुटबल एकेडेमीका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिएका छन् । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।