Ad Area

सुनिल पुन स्मृति फुटबलको उपाधि युएनबिसीलाई


दाङ, २४ मंसिर । स्व. सुनिल पुन मगर स्मृति दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि युएनबिसी घोराहीले जितेको छ ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थीत बिपी बाटिका खेल मैदानमा बुधवार भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक न्यू स्टार फुटबल एकेडेमीलाई २ का विरुद्ध चार गोल गर्दै युएनबिसी घोराहीले प्रतियोगिताको उपाधि हात पारेको हो ।

उपाधिसँगै युएनबिसीले नगद एक लाख १ हजार १११ रुपैयाँ, ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक न्यू स्टार फुटबल एकेडेमी उपबिजता रहँदै ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने युएनबिसीका समिक पुन म्यान अफ द म्याच बनेका थिए ।

न्यू स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सास्कृति क्लवको व्यवस्थापनमा भएको प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ उदयमान खेलाडीका रुपमा न्यु स्टार फुटबल एकेडेमी नारायणपुरका सुजन विक, उत्कृष्ठ डिफेन्स युएनबिसीका दर्पन जिएम, उत्कृष्ठ किपर युएनबिसीकै सरिन जिसी, उत्कृष्ठ मिडफिल्डर युएनबिसीकै भुवन नेपाली र उत्कृष्ठ खेलाडीका रुपमा न्यू स्टार फुटबल एकेडेमीका आयुष राना पुरस्कृत भएका थिए ।

प्रतियोगिताका संयोजक तथा प्रकृति लोक सांस्कृतिक क्लवका अध्यक्ष खुमबहादुर पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दिपक पाण्डेयको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, लायन्स क्लव अफ नारायणपुरका युवराज पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण न्यू स्टार फुटबल एकेडेमीका अध्यक्ष खुमबहादुर वलीले गरेका थिए । प्रतियोगितामा १२ फुटबल टिमको सहभागीता रहेको थियो ।