घोराहीमा चौथो प्याब्सन रनिङ शिल्ड सुरु
दाङ, २५ मङ्सिर । घोराहीमा चौथो संस्करणको प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ । प्याब्सन घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर खेल मैदानमा बुधवारदेखि प्याब्सन रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
चार दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेयले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश अध्यक्ष पाण्डेयले शैक्षिक विकासका लागि निजी विद्यालयको योगदान महत्वपूर्ण भए पनि राज्यले त्यसलाई बुझ्न नसकेको बताए । शैक्षिक विकाससँगै देशमा रोजगारी सिर्जना गर्नका लागि निजी विद्यालयको योगदान महत्वपूर्ण भएको र त्यसलाई राज्यले मूल्याङ्कन गर्न आवश्यक रहेको बताए ।
प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले निजी विद्यालयले देशको शिक्षा प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान गर्दै आएको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिनु आवश्यक रहेकोमा जोड दिएका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले शैक्षिक क्षेत्रको विकासका लागि निजी विद्यालय सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्यालले शिक्षासँगै खेलकुद क्षेत्रको विकासका लागि खेलुकदका प्रतियोगिताहरू नियमित हुन आवश्यक रहेको बताए । स्थानीय सरकारका रूपमा रहेको वडा कार्यालयबाट सक्ने सहयोग गर्न आपूm तयार रहेको बताएका थिए । उपमहानगरपालिका र संस्थागत विद्यालयबिच नङ र मासु जस्तै सम्बन्ध रहेको भन्दै उनले शिक्षासँगै खेलकुदका प्रतियोगिता गर्दा सहकार्य गर्न सकिने बताए ।
प्याब्सन दाङका सल्लाहकार वीरेन्द्र चन्दले २०७९ सालदेखि घोराहीमा रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदै आएको बताए । घोराही नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले प्याब्सनले विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । शिक्षासँगै खेलकुदको विकासले विद्यार्थीसहित मानिसको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले विद्यार्थीलाई खेलकुदमा सक्रिय सहभागिता जनाउन अनुरोध गरे ।
प्याब्सन घोराहीका उपाध्यक्ष तथा खेलकुद संयोजक मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्याब्सन घोराही नगरका सचिव बिलम भण्डारीले गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम हुनुपूर्व घोराहीमा मार्चपाससमेत गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घोराही क्षेत्रका ५८ वटा विद्यालयका विद्यार्थी सहभागी भएका छन् । प्रतियोगिता भलिबल, कबड्डी, रनिङ, हाइजम्प, लङजम्पलगायतका १७ इभेन्टमा विद्यार्थी सहभागी हुनेछन् ।
