Ad Area

यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन समन्वयात्मक बैठक


दाङ,२८ मंसिर । लुम्बिनी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले समन्वयात्मक बैठक सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखाको आयोजनामा तथा स्वास्थ्य निर्देशनालयको समन्वय सहयोगमा भएको समन्वयात्मक बैठक भएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा तथा स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी सेवाको पहुँच, गुणस्तर र निरन्तरताका विषयमा व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघअन्तर्गत सञ्चालन भइरहेको ग्राहक–केन्द्रित परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवा विस्तार परियोजनाका गतिविधिबारे विशेष जानकारी दिइएको थियो । परियोजनामार्फत ग्राहक–केन्द्रित सेवाको विस्तार गर्दै सिमान्तकृत, पिछडिएका तथा सेवाबाट टाढा रहेका समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

छलफलका क्रममा उक्त परियोजनाले सेवा प्रदायकहरूको क्षमता विकास, परिवार नियोजन सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक साधन र सामग्रीको आपूर्ति व्यवस्थापनमा सहयोग, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य सुदृढीकरण तथा सरकारी निकाय, स्थानीय तह र सरोकारवाला संघ–संस्थाबीच प्रभावकारी समन्वय गर्दै आएको विषय उठान गरिएको थियो । बैठकमा नेपाल परिवार नियोजन संघका पाल्पा, दाङ, रुपन्देही, नवलपरासी र बाँके शाखाबाट प्रदान गरिँदै आएका सेवा तथा कार्यक्रमहरूको बारेमा नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक बसन्त खनालले विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका कुमार थापाले गरेका थिए । बैठकले सरकारी तथा गैरसरकारी निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउँदै लुम्बिनी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारी विस्तारमा योगदान पु¥याउने निष्कर्ष निकालेको छ । स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा नेपाल परिवार नियोजन संघले लुम्बिनी प्रदेशमा सञ्चालन गरिरहेका कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी गराइएको थियो।