मैत्रीपूर्ण फुटबलमा पत्रकारको ‘निलो’ समूह विजयी
दाङ, २ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारहरुको ‘निलो’ समूह विजयी भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुल खेल मैदानमा भएको खेलमा ‘निलो’ समूहले ‘रातो’ समूहलाई २–० गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा ‘निलो’ समूहले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
‘निलो’ समूहको जितमा कपिल लामिछाने र शालिकराम चौधरीले एक–एक गोल गर्दै निर्णायक भूमिका खेलेका थिए । उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगिता महासंघको चार दिने स्थापना दिवस कार्यक्रमअन्तर्गत दोस्रो दिन आयोजना गरिएको पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुबेदीले जानकारी दिएका छन् । अध्यक्ष सुबेदीले खेलकुदले पत्रकारहरूबीचको आपसी सम्बन्ध, एकता र सहकार्यलाई मजबुत बनाउने भएकाले स्थापना दिवसमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता राखिएको बताए । मैत्रीपूर्ण प्रतियोगितामा पत्रकारका रातो र निलो गरि दुई समुह सहभागी थिए ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, सल्लाहकार तथा पूर्व अध्यक्ष डा. सुदीप गौतम, प्रेस काउन्सीलका पूर्व सदस्य शरद अधिकारी, महासंघ दाङ शाखा उपाध्यक्ष नारायणी रजौरा, सचिव जेन सागर,घोराही नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनलगायत पत्रकारहरूको सहभागिता रहेको थियो। महासंघले स्थापना दिवसको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपाल पत्रकार महासघ दाङ शाखाले पुस ४ गते ३३ औ स्थापना दिवस मनाउन थालेको छ ।
