Ad Area

गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेट सिजन–२ : ग्रेटअरनिको र हिमाल एकेडेमी सेमिफाइनलमा


बिकास भट्टराई
दाङ, १० पुस । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको गुरुकुल दाङ जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ अन्तर्गत छैठौं दिन सम्पन्न लिग चरणका अन्तिम खेलहरूमा ग्रेट अरनिको स्कुल तुल्सीपुर र हिमाल एकेडेमी तुल्सीपुर विजयी भएका छन्।

घोराही–१७ स्थित घोराही क्रिकेट मैदानमा भएको छैठौं दिनको खेल नं. १० मा ग्रेट अरनिको स्कुल तुल्सीपुरले गोर्खा इन्टरनेशनल स्कुल घोराहीलाई १० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। सेमिफाइनल पुग्न जित अनिवार्य रहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ग्रेट अरनिकाले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर ९३ रन बनायो।

ग्रेट अरनिकाका लागि बिमोचन थापाले ३४ रन, राजेश खड्काले २१ रन र विश्वास वलिले १२ रन जोडे। गोर्खाका तर्फबाट बलिङमा दक्ष्य ठकुरीले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए। साथै सुरेन्द्र विकले २ तथा गिरिराज नेपाली र योगेश्वर कुवरले १–१ विकेट लिए।
९४ रनको लक्ष्य पछ्याएको गोर्खा इन्टरनेशनल १३.५ ओभरमा ८३ रनमै अलआउट भयो। गोर्खाका लागि योगेश्वर कुवरले २७ रन, अमिस सेन्चुरीले १६ रन र सन्देश सिंह सुनारले १२ रन बनाए। ग्रेट अरनिकाका विष्णु वलीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए। साथै सेभ्यान्स गिरीले ३ र प्रमोद डाँगीले २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ग्रेट अरनिकाका कप्तान विष्णु वली घोषित भए। उनलाई दाङ जिल्लाका पूर्व खेलाडी एवं जिल्ला प्राविधिक टिम सदस्य सन्नी कार्कीले नगद ५ सय रुपैयाँसहित ट्रफी प्रदान गर्नुभयो। त्यसैगरी, दिउँसो भएको अन्तिम लिग चरणको खेलमा हिमाल एकेडेमी तुल्सीपुरले मेचिकाली आवासीय स्कुललाई ९४ रनले पराजित गर्‍यो। टस हारेर पहिला ब्याटिङ गरेको हिमाल एकेडेमीले २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पार्‍यो।

हिमालका लागि राजिव वलिले ३३ रन, दिपसन कार्कीले १९ रन र हृदयेश कुमार एमले १६ रन बनाए। मेचिकालीका रमेश बिष्टले २ विकेट लिए।१३२ रनको लक्ष्य पछ्याएको मेचिकाली आवासीय स्कुल ६।४ ओभरमै ३७ रनमा समेटियो। मेचिकालीका लागि त्रीदेव वलिले ९ रन र रमेश बिष्टले ६ रन जोडे। हिमालका समीप भट्टराईले २ ओभरमा २ मेडनसहित ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। साथै सम्यल थारुले २ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच हिमाल एकेडेमीका समीप भट्टराई घोषित भए। उनलाई दाङ जिल्लाका पूर्व खेलाडी एवं हिमाल एकेडेमीका खेल प्रशिक्षक मुकेश कुमार एमले नगद ५ सय रुपैयाँसहित ट्रफी प्रदान गर्नुभयो। अब प्रतियोगिताअन्तर्गत ११ पुस गते सेमिफाइनल खेलहरू हुनेछन्। बिहान १० बजे ग्रेट अरनिको स्कुल तुल्सिपुर र हिमाल एकेडेमी तुल्सिपुरबीच तथा दिउँसो १ बजे माउन्ट भ्यु स्कुल घोराही र पुरन्धारा एभरेस्ट एकेडेमी पुरन्धाराबीच सेमिफाइनल खेल हुने तालिका रहेको छ।